जनकपुरधाम, साउन २१ । नेपाली वैश्य समाजको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार जनकपुरधामस्थित मारवाड़ी सभा गृहमा सम्पन्न भएको छ ।

बैठकमा सहभागी वक्ताहरूले वैश्य समुदाय नेपालको कुल जनसंख्यामा उल्लेखनीय उपस्थिति भए पनि राजनीति र नेतृत्वको क्षेत्रमा अपेक्षित प्रतिनिधित्व नपाएको भन्दै आपसी एकता र सहकार्यको खाँचो औँल्याएका छन् ।

बैठकमा वैश्य समुदायका विभिन्न उपसमुदायबीच रोटी–बेटी सम्बन्ध विस्तार, गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति, महिलाको शिक्षामा जोड, दहेज प्रथा अन्त्यजस्ता सामाजिक विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा पूर्वगृहमन्त्री भरत साह, प्रदेशसभा सदस्य कञ्चन विच्छा, राष्ट्रिय वैश्य महासंघ नेपालका अध्यक्ष परमेश्वर साह, वरिष्ठ सल्लाहकार विश्वनाथ साह, महासंघका सचिव राम उदगार महासेठ, पूर्वमेयर बजरंग प्रसाद साह, उपमेयर किशोरी साह, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, पूर्वअध्यक्ष रमेश साहलगायतकाहरुको उपस्थिति रहेको थियो ।

बैठकले आगामी कार्तिक ३० गते प्रथम राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णयसमेत गरेको छ । वक्ताहरूले उक्त अधिवेशन समुदायको भावी दिशा तय गर्न महत्त्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरेका थिए ।

वक्ताहरूले समुदायभित्र समावेशी सोच, आपसी सहयोग र सशक्त संगठनको विकास बिना मुलधारको नेतृत्वमा वैश्य समुदायको प्रभावकारी उपस्थिति सम्भव नरहेको बताए ।