जनकपुरधाम, २२ साउन । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा मधेश प्रदेशका ६ जिल्लाका १७ पालिकामा सञ्चालित स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रमले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको जनाएको छ ।

जनवरी २०२५ देखि लागू भएका ती कार्यक्रमको अर्धवार्षिक समिक्षा बिहीबार जनकपुरधाममा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी पालिकाका प्रतिनिधिहरूले मातृ तथा नवजात शिशु सेवा सुधार, लैङ्गिक हिंसा नियन्त्रण, बालविवाह न्यूनीकरण, विपद् व्यवस्थापन र अनुसन्धानलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको दाबी गरे ।

जनसङ्ख्या कोषका मधेश प्रदेश प्रमुख डा. नरेन्द्र कुमार मिश्रले हालसम्म प्रदेशका १३६ पालिकामा परिवार नियोजन सेवासहितका कार्यक्रमहरू विस्तार भइसकेको जानकारी दिए । उनका अनुसार कार्यक्रमको प्रभाव विस्तारै प्रदेशभर फैलिँदै छ ।

समीक्षा बैठकमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बालविवाह, दाइजो प्रथा र भागी विवाह अन्त्य गर्न तीन तहका सरकार र विकास साझेदारबीच सशक्त समन्वय आवश्यक रहेको बताए । साथै, मातृ–शिशु मृत्यु दर घटाउन अझ गम्भीर प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवले संघीयता कार्यान्वयनसँगै प्रदेशमा स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको बताए । यस्ता कार्यक्रमहरूले समग्र स्वास्थ्य सूचकांकमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गरे ।

त्यस्तै, समाज कल्याण मन्त्रालयका सचिव रञ्जित कुमार यादवले सामाजिक क्षेत्रमा अझै गम्भीर हस्तक्षेप आवश्यक रहेको धारणा राखे ।

समीक्षा कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।