रक्सी विवादले हिंसात्मक रूप लिँदा छुरा प्रहार, तीन घाइते

सर्लाही, २२ साउन । सर्लाहीको बलरा नगरपालिका–१ स्थित छन्कीटोलामा रक्सी सेवनलाई लिएर दुई समूहबीच भएको विवाद हिंसात्मक मोड लिँदा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् ।
बुधबार राति करिब ९ बजेतिर भएको घटनामा बलरा–१ का २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल घाइते भएका हुन् ।
स्थानीयवासीका अनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद अचानक जटिल बन्दै गएपछि भारतका अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंहले छुरा प्रहार गरेका थिए ।
घाइतेमध्ये धर्मवीर सहनीको पेटमा गम्भीर चोट लागेपछि उनलाई बलरास्थित अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो । अहिले उनलाई डिस्चार्ज गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
अन्य दुई घाइते दशरथ र अमितको हात र घाँटीमा सामान्य चोट लागेको र उनीहरू पनि उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
घटनापछि आरोपित चारै जना फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इलाका प्रहरी कार्यालय गडहिया र जिल्ला प्रहरीको संयुक्त टोलीले घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजी कार्य गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


