काठमाडौं, २० साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरण प्रक्रिया हाललाई स्थगन गरेको छ ।

मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभागले यो कार्य तत्कालका लागि रोकिएको जानकारी गराएको हो ।

विभागले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अन्तर्गत हुँदै आएको दर्ता तथा नवीकरण कार्य नयाँ कानुनी व्यवस्थासँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएको भन्दै हाललाई प्रक्रिया स्थगन गरिएको उल्लेख गरेको छ ।

सरकारले हालै संशोधन गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ अनुसार अब अनलाइन सञ्चारमाध्यम दर्ताको प्रक्रिया जिल्ला प्रशासन कार्यालय (स्थानीय अधिकारी) मार्फत हुनेछ ।

संशोधित ऐनको दफा ७(ख) अनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्ति वा संस्थाले तोकिएको दस्तुरसहित स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण कार्य नयाँ कानुनी ढाँचासँग समायोजन गरी पुनः सञ्चालनमा ल्याइने जनाएको छ ।