हुलाक बचतका रकम अब वाणिज्य बैंकमार्फत

जनकपुरधाम, २० साउन । वर्षौं अड्किएको धनुषा जिल्ला हुलाक कार्यालय अन्तर्गतको हुलाक बचत बैंकको रकम अन्ततः राष्ट्रिय वाणिज्य बैंकमा स्थानान्तरण गरिएको छ । यससँगै झन्डै एक दशकदेखि रकम निकाल्न नसकेका ७४६ जना बचतकर्ताले अब राहतको महसुस गरेका छन् ।
जनकपुरधाम भानुचोकस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा उक्त खाता औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । मंगलवार आयोजित पत्रकार सम्मेलनमा हुलाक निर्देशनालय धनुषाका निर्देशक जगदीश अर्यालले बचतकर्ताको जम्मा १ करोड ३० लाख ३ हजार २०१ रुपैयाँ सम्झौता अनुसार बैंकमा पठाइएको जानकारी दिए ।
२०७० साल पुस ३० गतेदेखि फाँट प्रमुखको जिम्मेवारी सम्हालेका तत्कालीन नायब सुब्बा सुनिल कुमार दासले रकम हिनामिना गरेको आरोप लागेपछि फरार भएका थिए । त्यसयता बचतकर्ताको पैसा फस्दै गयो । पाँच सयदेखि १० लाख रुपैयाँसम्म हुलाक बचत खातामा राखेका सर्वसाधारण, वृद्धवृद्धा, किसान, कर्मचारी सबै वर्षौंसम्म निकासी गर्न नसकेर समस्यामा परेका थिए ।
‘हामीले यति वर्षसम्म संघर्ष गरेर बल्ल हाम्रो रकम फिर्ता हुने बाटो खुलेको छ,’ एक पीडित बचतकर्ताले बताए ।
हुलाक खातामा रहेको सम्पूर्ण बचत अबदेखि राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालित हुनेछ । यसपछि बचतकर्ताले नियमित रूपमा बैंकबाटै निकासी, जम्मा तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन् । सरकारी संयन्त्र, नागरिक समाज र पीडितहरूको निरन्तर दबाबपछि बल्ल समाधानको ढोका खुलेको हो ।
निर्देशक अर्यालले भविष्यमा यस्ता वित्तीय अनियमितता नदोहोरिÞने गरी व्यवस्थागत सुधार गरिने आश्वासन दिए । ‘हामीले अब हुलाक सेवा र वित्तीय कारोबारलाई पूर्ण पारदर्शी र उत्तरदायी बनाउन प्रतिबद्ध छौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


