नगराइन नगरपालिका ठप्प : मेयर–उपमेयरको अडानले महिनौदेखि बजेट र कार्यक्रम पास हुन सकेन

जनकपुरधाम, साउन २० । धनुषाको नगराइन नगरपालिकामा मेयर र उपमेयरबीचको चर्किएको विवादले महिनौंदेखि पूर्ण रूपमा कामकाज ठप्प छ । यसले नीतिगत निर्णयदेखि बजेट पारितसम्मका महत्वपूर्ण काम प्रभावित बनेका छन् । यो विवाद अब स्थानीय सेवाग्राहीहरूका लागि बाधक बन्दै गएको छ ।
गत आर्थिक वर्षको नगरसभा नै हुन नसकेको नगरपालिकाले यस वर्ष पनि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न सकेको छैन । प्रमुख जनप्रतिनिधिहरूबीचको आपसी द्वन्द्वले स्थानीय सरकार पूर्ण रूपमा लक भएको छ ।
नगरपालिकाकी उपमेयर राधा देवीले मेयर विनय कुमार यादवमाथि आरोप लगाउँदै मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरिन् । कांग्रेसबाट निर्वाचित मेयर यादवले कार्यपालिका सदस्यहरूको बहुमतको कदर नगरी ‘निजी स्वार्थपूर्ति’का लागि नगरपालिकालाई बन्धक बनाएको उनको आरोप थियो ।
‘मेयरले कानूनको पालना नगरि कार्यपालिकाको निर्णयप्रति पनि सम्मान देखाएका छैनन्,’ उपमेयर यादवले भनिन्, ‘उहाँको मनोमानी व्यवहारकै कारण नगरसभाजस्ता संवैधानिक प्रक्रिया समेत रोकिएको छ ।’
नगर प्रमुख र उपप्रमुखबीचको विवाद नयाँ भने होइन । कार्यकाल सुरु भएको पहिलो वर्षदेखि नै मतभेद सुरु भएको थियो । गत वर्ष पनि यस्तै विवादकै कारण समयमै नगरसभा हुन सकेन । अन्ततः कात्तिक महिनामा सर्वपक्षीय सहमति भएपछि काम अघि बढेको थियो । तर, त्यो सहमति पनि धेरै समय टिकेन ।
उपमेयर यादवले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को पालना नगरि २०७६ मा ल्याइएको कार्यविधिमा मेयरले आफ्ना अनुसार परिवर्तन गरी मनोमानी गरेको आरोप लगाइन् । उनले भनिन्, ‘जबसम्म २०७६ को ऐन खारेज गरी २०७४ कार्यान्वयन गरिँदैन तबसम्म हामी कुनै पनि सभा बस्न दिँदैनौं ।’
उनले भनिन्, ‘मेयरले मेरो अधिकारमा समेत हस्तक्षेप गरेका छन् । जनप्रतिनिधिको हैसियतमै प्रश्न उठ्ने गरी काम गरिरहनु भएको छ ।’
पत्रकार सम्मेलनमा उपमेयर र वडाध्यक्षहरूसहित एमालेबाट निर्वाचित आठजना कार्यपालिका सदस्यहरू समेत उपस्थित थिए । उनीहरूले कार्यविधि संशोधन मात्र नभई प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णलाई हटाउनुपर्ने माग समेत सार्वजनिक गरे ।
यता, मेयर विनय कुमार यादवले उपमेयर र एमाले कार्यपालिका सदस्यहरूकै कारण नगरपालिका ठप्प भएको दाबी गरे । उहाँहरूले अघिल्लो पटक पनि करिब नौ महिनासम्म नगरपालिकालाई बन्धकी बनाउनु भएको थियो,’ यादवले भने, ‘अब फेरि त्यही दोहोरिएको छ । केही कार्यविधि संशोधनबाहेक अरू सबै विषयमा सहमति गर्न हामी तयार छौं ।’
मंगलबार तय गरिएको कार्यपालिका बैठक एमाले निकट जनप्रतिनिधिहरू अनुपस्थित भएपछि स्थगित गरिएको छ ।
मेयर–उपमेयरबीचको अडान र एकअर्कामाथिका आरोप–प्रत्यारोपबीच सेवा लिन आउने सर्वसाधारण भने अत्यन्त मारमा परेका छन् । साना विकास निर्माणदेखि दैनिक सेवा प्रवाहसम्म ठप्प हुँदा नागरिक निराश बनेका छन् । स्थानीय प्रशासन र प्राविधिक कर्मचारीहरू पनि मार्गनिर्देशन नहुँदा अन्योलमा परेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


