जनकपुरधाम, १९ साउन । गुठी संस्थान र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीच जग्गाका लागि लिज सम्झौता भएको छ ।

गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको श्रीराम मन्दिर गुठी अन्तर्गतको चार कठ्ठा जग्गा पत्रकार महासंघलाई लिजमा प्रदान गरिने भएको हो ।

सम्झौताअनुसार महासंघले सो जग्गामा व्यवसायिक प्रयोजनसहितको आधुनिक भवन निर्माण गर्नेछ । उक्त संरचना सूचना, सञ्चार तथा सामाजिक सेवा प्रवाहलाई लक्ष्यित गरी बनाइने महासंघले जनाएको छ ।

गुठी संस्थान सञ्चालक समितिको निर्णयअनुसार सार्वजनिक सूचना प्रकाशित गर्दै प्रस्ताव माग गरिएको थियो । प्राप्त प्रस्तावहरूमध्ये पत्रकार महासंघको प्रस्ताव प्राविधिक तथा आर्थिक दृष्टिकोणले उत्कृष्ट ठहरिएको संस्थानले जनाएको छ ।

महासंघले सम्पूर्ण निर्माण लागत आफैं व्यहोर्नेछ भने भवनको डिजाइन, प्राविधिक प्रतिवेदन, लागत अनुमान र कार्यतालिका गुठी संस्थानमा पेश गर्नु पर्नेछ । निर्माण कार्य नेपालका प्रचलित कानुनी प्रावधान र मापदण्डअनुसार गर्नुपर्ने उल्लेख छ ।

सम्झौताअनुसार जग्गाको स्वामित्व गुठी संस्थानमै कायम रहनेछ । महासंघले केवल लिजको रूपमा पुनः बहालमा दिने अधिकार मात्र प्राप्त गर्नेछ । हक हस्तान्तरणको अधिकार भने रहने छैन ।

गुठी संस्थानका प्रतिनिधिहरूले निष्क्रिय रूपमा रहेको जग्गाको उत्पादनशील प्रयोग हुने, स्थानीय रोजगारी सिर्जना हुने र सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यता, पत्रकार महासंघले जनकपुरधामलाई सूचना र सञ्चारको केन्द्रबिन्दु बनाउने आफ्नो दीर्घकालीन योजनाअनुरूप यो सम्झौता ऐतिहासिक अवसर भएको टिप्पणी गरेको छ ।

सम्झौतासम्बन्धी सम्पूर्ण कर, दस्तुर, कानुनी प्रक्रिया तथा स्वीकृतिको जिम्मेवारी महासंघले लिनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारा, विभिन्न पदाधिकारी तथा गुठी संस्थानका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।