रौतहट, १९ साउन । रौतहट जिल्लाको इशनाथ नगरपालिकामा सिँचाइका क्रममा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । धानको खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर ५५ वर्षीय शेख जाफिरको ज्यान गएको हो ।

जाफिर इशनाथ नगरपालिका–८ का बासिन्दा हुन् । विद्युत मोटर प्रयोग गरेर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्कालै गौरस्थित प्रादेशिक अस्पताल ल्याइएको थियो । तर, उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

प्रहरीका अनुसार यस वर्ष खडेरीका कारण अधिकांश किसान विद्युत मोटर प्रयोग गरी सिँचाइमा आश्रित छन् । यही क्रममा सावधानी नअपनाउँदा दुर्घटनाहरू दोहोरिएका छन् ।

‘केही दिनअघिमात्रै यस्तै प्रकृतिका घटनामा अन्य किसानको पनि ज्यान गएको थियो,’ डिएसपी रायले भने, ‘यो सिजनमा करेन्ट लागेर रौतहटमा आठ जना किसानको ज्यान गइसकेको छ ।’

प्रहरी र जिल्ला प्रशासन कार्यालयले पटक–पटक सार्वजनिक रूपमा सिँचाइको क्रममा विद्युत प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आएका छन् ।

जिल्ला प्रशासनले गाउँ–गाउँमा सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । विद्युत बोर्डका अनुसार नाङ्गो तार, जमिनमा राखिएको मोटर सिँचाइ उपकरणको अव्यवस्थित प्रयोगले गर्दा यस्ता घटना हुने गरेका छन् ।

कृषि सिजनमा लगातार बढिरहेका यस्ता दुर्घटनाले ग्रामीण किसानको ज्यान जोखिममा पर्दै गएकोप्रति स्थानीय तह र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने आवाज चुलिँदै गएको छ ।