जनकपुरधाम, १९ साउन । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्याङ्कले मधेश प्रदेशमा अझै पनि विद्युत चुहावट गम्भीर समस्या रहेको देखाएको छ । यद्यपि देशभरको तुलनामा यहाँ केही सुधार देखिए पनि चुहावटको दर १५.१५ प्रतिशतमै कायम रहँदा प्राधिकरणलाई नियन्त्रणमा चुनौती थपिएको छ ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशमा कुल २ अर्ब ८२ करोड युनिट विद्युत वितरण गरिएको थियो । त्यसमा ४२ करोड ८४ लाख युनिट बराबरको विद्युत चुहावट भएको छ । यो कुल वितरणको १५.१५ प्रतिशत हो ।

विद्युत चुहावटका प्रमुख कारणमध्ये विद्युत चोरी, मिटर प्रणालीमा कमजोरी, बिलिङ त्रुटि तथा तथ्याङ्क व्यवस्थापनमा प्राविधिक र प्रशासनिक समस्या रहेका छन् । यिनै गैर–प्राविधिक कारणहरूले विद्युत आपूर्तिमा घाटा बेहोर्नुपरेको छ ।

नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूका अनुसार विद्युत चुहावट नियन्त्रणको लागि प्राविधिक सुधारसँगै ग्राहक सचेतना र कडाइका साथ निगरानी आवश्यक छ । प्रदेशका शहरी तथा ग्रामीण क्षेत्रमा मिटर अनियमितता, अवैध जडान र बिल नतिर्ने प्रवृत्तिले समस्या झनै जटिल बनाएको उनीहरूको भनाइ छ ।

मधेश प्रदेशका सर्लाही, महोत्तरी, रौतहट, सिरहा, सप्तरी र बारामा विद्युत चोरीका घटना बारम्बार सार्वजनिक भइरहँदा प्राधिकरणको सुधार प्रयास पर्याप्त देखिएको छैन । यद्यपि प्राधिकरणले पछिल्लो वर्ष केही ठूला चोरी गिरोह पक्राउ गरेको र नियमित मिटर जाँच तथा डिजिटल प्रणालीको विस्तारमार्फत सुधार ल्याउने प्रयास गरेको जनाएको छ ।