जनकपुरधाम, १९ साउन । जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका निर्देशक डा. सोनु साह ‘गुगल फर एजुकेशन च्याम्पियन्स सिम्पोजियम’मा सहभागी हुन सिंगापुर प्रस्थान गरेका छन् ।

सिंगापुरमा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट सहभागिता जनाउनुका साथै उनी एशिया–प्रशान्त क्षेत्रका मात्र ६ जना वक्तामध्ये एक भएर ‘गुगल च्याम्पियन टक’ प्रस्तुत गर्न लागेका हुन् ।

सम्मेलनमा साहद्वारा प्रस्तुत गरिने शीर्षक Empowering Young Entrepreneurs: How Google Blended Inside Our National Student Innovation Summit अन्तर्गत उनले नेपालका विद्यार्थीलाई नवप्रवर्तन र उद्यमशीलतामा संलग्न गराउन गुगलका उपकरणहरूको प्रयोग कसरी प्रभावकारी भएको छ भन्नेबारे आफ्ना अनुभव र अभ्यास साझा गर्नेछन् ।

उक्त प्रस्तुति मोनाष्टिक हाई स्कुल तथा नेपाल युवा उद्यमी मञ्च (NYEF) जनकपुरधामको सहकार्यमा हरेक वर्ष आयोजना हुने National Student Innovation Summit मा आधारित हुनेछ । कार्यक्रमको सह–आयोजक कारखाना तथा प्राविधिक समर्थनदाता डिजिटल एण्ड बियन्ड रहेका छन् ।

गुगल च्याम्पियन टकमार्फत डाक्टर साहले विद्यालय स्तरमै नवप्रवर्तन, समस्या समाधान क्षमता र उद्यमशील सोचलाई प्रवद्र्धन गर्न सकिने मार्गचित्र प्रस्तुत गर्नेछन् ।

साहले भने, ‘सिंगापुरको यो प्रतिष्ठित सम्मेलनमा भाग लिन पाउँदा गर्व लागेको छ । विश्वभरका शिक्षाविद र नवप्रवर्तनकर्ताहरूसँग सिक्न, साझा गर्न र सहकार्य गर्न पाउनु ठूलो अवसर हो ।’

सम्मेलनमा सहभागी अन्य देशका प्रतिनिधिसँग अनुभव साटासाट गर्दै भविष्यको शिक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने दृष्टिकोणमा उनले नेपाली शिक्षा क्षेत्रको दृष्टिकोणसमेत उजागर गर्ने विश्वास व्यक्त गरेका छन् ।