महोत्तरी, १९ साउन । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासले ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । आइतबार साँझ रामगोपालपुर नगरपालिका–५ स्थित बजार चौकमा चेकजाँचका क्रममा ४६५ किलो गाँजा बरामद गरिएको हो ।

ब्युरो प्रमुख प्रहरी नायब उपरीक्षक सरोज अधिकारीको नेतृत्वमा खटिएको टोलीले बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको ना.६ ख २९१९ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको ब्युरोले जनाएको छ । ट्रकभित्र सेतो बोरा र रातो प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा लुकाइएको थियो ।

प्रनाउ अधिकारीका अनुसार बर्दिबास–जलेश्वर सडक खण्ड आसपासका क्षेत्रमा पछिल्लो समय लागुऔषध तस्करी बढेको सूचनाका आधारमा निगरानी बढाइएको थियो । ‘रामगोपालपुर प्रहरीको समन्वयमा ट्रक चेकजाँच गर्दा यस्तो परिमाणमा गाँजा फेला परेको हो,’ उनले भने, ‘यसलाई संगठित समूहले भारततर्फ तस्करी गर्न लागेको हुनसक्छ ।’

बरामद गाँजासहित ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय मानबहादुर मुक्तानलाई नियन्त्रणमा लिइएको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महोत्तरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

ब्युरो स्रोतका अनुसार भारतसँगको खुला सीमा र मधेश प्रदेशका सडक सञ्जालहरू लागुऔषध ओसारपसारको मुख्य मार्गका रूपमा प्रयोग भइरहेको छ । बर्दिबास, जलेश्वर, मलंगवा, गौशाला, सर्लाहीको हरिपुर, सिरहाको मिर्चैया लगायत नाकाहरूबाट ब्राउन सुगर, स्पास्मो, गाँजा, ट्याब्लेट र अन्य प्रतिबन्धित औषधि तस्करी हुने क्रम बढ्दो छ ।

सुरक्षाविहीन खुला सीमा, न्यून चेकजाँच र सीमावर्ती क्षेत्रका केही समूहको संलग्नताले मधेश प्रदेश हुँदै लागुऔषध तस्करीको नेटवर्क बलियो हुँदै गएको प्रहरीले जनाएको छ ।