५० दिनपछि खुल्यो सप्तरी डकैती–हत्या काण्ड : ९ जना अभियुक्त सार्वजनिक

सप्तरी, १९ साउन । जेठ २३ गते राति सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमा भएको डकैती तथा ज्येष्ठ नागरिक कन्तलाल चौधरीको निर्मम हत्या घटनामा संलग्न ९ जना अभियुक्तलाई ५० दिनपछि प्रहरीले पक्राउ गरेको छ ।
घटनामा प्रत्यक्ष संलग्न डाँका, हत्या कार्यमा प्रयोग भएका हतियार तथा लुटिएका सुन–चाँदीका गरगहना सस्तोमा किनेर गलाउने ज्वेलरी पसल सञ्चालकहरू समेत पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै घटनाबारे विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार डकैती र हत्यामा संलग्न अभियुक्तहरूले चिनजानकै चौधरीलाई पहिचान खुल्ने डरले हत्या गरेको स्वीकारेका छन् ।
प्रहरीले डाँका तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ गरेका ९ जनामध्ये ६ जना प्रत्यक्ष रूपमा डकैतीमा संलग्न थिए भने बाँकी ३ जना लुटिएका गरगहना किनेर गलाउने कार्यमा संलग्न थिए ।
डकैती तथा हत्या घटनामा संलग्नहरूमा सुरुङ्गा नगरपालिका–८ का २७ वर्षीय राजेश कुमार मरिक र २८ वर्षीय सञ्जय मरिक, बोदेबरसाइन नगरपालिका–२ का २४ वर्षीय दीपेन मरिक, खडक नगरपालिका–११ क ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका–८ का २४ वर्षीय दीपक मरिक, बेलका नगरपालिका–१ उदयपुरका २८ वर्षीय चन्दन मरिक रहेका छन् ।
त्यस्तै, लुटिएका गरगहना खरिद र गलाउनेमा संलग्नहरूमा सुरुङ्गा नगरपालिका–७ का ३३ वर्षीय राजु विश्वकर्मा, लहान नगरपालिका–६ का ५२ वर्षीय महेन्द्र गोडसे र लहान नगरपालिका–८ का ३८ वर्षीय उमेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार जेठ २३ गते राति करिब १ बजे मदिरा सेवनपछि समूहले रिक्सा चढेर चौधरीको घर पुगेका थिए । प्रतिकारको प्रयास गर्दा डाँकाहरूले खुकुरी र पेस्तोल प्रहार गरी चौधरीको हत्या गरेका थिए । त्यसपछि चौधरीका भाइ रामाकान्तमाथि पनि आक्रमण गर्दै ५ तोला सुन, २ किलो चाँदी र नगद रकम लुटिएको थियो ।
अभियुक्तहरूका अनुसार चौधरीले केही सदस्यहरूलाई पहिचान गरिसकेकाले पोल खुल्ने डरले हत्या गरिएको हो । प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार अनुसन्धानका क्रममा १ थान कटुवा पेस्तोल, २ राउन्ड गोली, १ थान खुकुरी, १ थान कटर, चाँदीका बलिया र माठा (१÷१ थान), गरगहना गलाउने मेसिन र नगद ७५ हजार बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार डाँका समूहलाई पत्ता लगाउन मधेश प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त प्रयासमा अनुसन्धान गरिएको हो । मोबाइल ट्र्याकिङ, गोप्उ सूचना र पक्राउ परेका अभियुक्तको बयानकै आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
चौधरीको घरबाट लुटिएका सुन–चाँदीहरू स्थानीय ज्वेलरी पसलमार्फत गलाएर बेच्ने प्रयास गरिएको पाइएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले मधेशमा अपराधको ग्राफ अन्य प्रदेशको तुलनामा उच्च रहेको भन्दै अपराध नियन्त्रणका लागि प्रहरीले गम्भीर प्रयास थालेको बताए । ‘जघन्य अपराध नियन्त्रणका लागि प्रहरी सजग छ । यस्तो किसिमका घटनामा जनसहभागिता र सूचनाको आदान–प्रदान आवश्यक छ,’ डीआईजी चतुर्वेदीले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


