‘अमृत’ वर्षाले मधेशका किसानमा आशाको हरियाली

जनकपुरधाम, १८ साउन । सुक्खा सहेर बसेका मधेश प्रदेशका किसानहरूको अनुहारमा झरीसँगै पुनः आशाको हरियाली देखिएको छ । शनिबार र आइतबार परेका वर्षाले मधेशका अधिकांश क्षेत्रमा खेत हिलाम्मे बनेसँगै किसानहरू धान रोपाइँमा सक्रिय भएका छन् ।
प्रदेशभरि वर्षाको पानी जमिनमा परेपछि खेतमा मात्र नभई किसानका मनमा पनि हरियाली छाएको स्थानीय कृषकहरू बताउँछन् । धान रोप्न नपाएर चिन्तित रहेका किसानहरू आइतबार बिहानैदेखि हलो, ट्याक्टर, कोदालो लिएर खेतमा झरेका छन् ।
मधेश प्रदेशमा ५ लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म २ लाख १३ हजार ३४८ हेक्टर जग्गामा मात्र रोपाइँ सकिएको छ । यो कुल खेतीयोग्य क्षेत्रफलको ५७.२७ प्रतिशत हो । अर्थात् ४२.७३ प्रतिशत खेतमा अझै रोपाइँ हुन बाँकी छ । कृषिविज्ञहरूका अनुसार पछिल्ला वर्षाले बाँकी अधिकांश क्षेत्रफलमा पनि रोपाइँ सम्भव बनाउने सम्भावना बढेको छ ।
जनकपुरधाम–२४ बसहियाका कृषक राजकरण साह भन्छन्, ‘बोर्डिङ र मोटर पनि सुक्न थालेको बेला परेको यो पानी हामी किसानका लागि अमृत हो । रोपिएको धानबाली जोगिने भयो यसले ठूलो राहत दिएको छ ।’
त्यस्तै अर्का किसान हरिनन्दन यादवले पानी नपरेको अवस्थामा मोटरले पानी तान्नै नसकेको स्मरण गर्दै एकै दिनमा वर्षाले खेतको स्वरूप बदलिएको अनुभव सुनाए ।
किसान शम्भु साह भन्छन्, ‘ब्याडमा लगाइएको बिउ जेनतेन जोगाइ राखेका थियौँ । अहिलेको पानीले त्यसैलाई रोप्न मिल्ने भयो ।’ जनकपुरका सञ्जय यादवका अनुसार हालको वर्षाले रोपाइँ गर्न पर्याप्त पानी परे पनि समय ढिला भएकाले उत्पादनमा केही असर पर्न सक्ने अवस्था छ ।
कृषि मन्त्रालयका अनुसार आठ जिल्लामध्ये पर्सामा सबैभन्दा बढी ८५ प्रतिशत, बारामा ८३ प्रतिशत, रौतहटमा ७३ प्रतिशत, सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । तर, सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लामा अवस्था तुलनात्मक रूपमा कमजोर देखिएको छ । महोत्तरीमा ३९.७३ प्रतिशत, सप्तरीमा ४० प्रतिशत, धनुषामा ४० प्रतिशत र सिरहामा ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मधेशका थुप्रै ठाउँहरूमा मध्यमदेखि धेरै भारी वर्षा भएको छ । धेरैजसो स्थानमा वर्षा ४८ मि.मि. देखि १०० मि.मि. को आसपास पुगेको छ । यसले रोपाइँको वातावरण सहज बनाएको देखिन्छ ।
कृषिविज्ञका अनुसार वर्षाले बिउ सुक्नबाट जोगाएको छ । रोपिएको बालीलाई जीवन दिएको छ । यसले जमिनको पानी सतह कायम गर्न समेत सहयोगी बनेको छ ।
सप्तरीमा ८१ ह्जार ६६८ हेक्टर खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ हुने गरेकामा यस वर्ष झन्डै ४० प्रतिशत खेत बाँझै रहेको अवस्था थियो । तर, हालको वर्षाले खाद्य उत्पादन बढ्ने आशा पलाएको छ ।
वर्षासँगै राहतका साथसाथै जोखिम पनि देखिएको छ । नदी किनारका क्षेत्रहरूमा पानी जम्ने, जलमग्नता बढ्ने, खेत भासिने सम्भावना रहने भएकाले स्थानीय तहहरूलाई सचेत रहन आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


