ढल्केबरमा कृषि उपज संकलन केन्द्र स्थापना हुँदै

जनकपुरधाम, १८ साउन । कृषकले उत्पादन गरेका कृषि उपज उचित मूल्यमा सिधै बजारमा लैजान सकून् भन्ने उद्देश्यले धनुषाको ढल्केबरमा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने तयारी थालिएको छ । उक्त केन्द्र राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको पहलमा सञ्चालनमा ल्याइने भएको हो ।
ढल्केबरमा कम्पनीद्वारा आयोजित ‘नेपालको कृषि रुपान्तरण’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा कम्पनीका अध्यक्ष विशाल हुमागाईंले संकलन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन अघि बढाइएको जानकारी दिएका छन् ।
उनका अनुसार केन्द्र स्थापनापछि किसानका उपज सिधै कम्पनीले खरिद गर्नेछ । यसले किसानलाई बजारको भरपर्दो पहुँच र स्थिर मूल्य सुनिश्चित गर्नेछ । ‘ढल्केबर र आसपासका क्षेत्र कृषि उत्पादनमा सम्भावना बोकेको भू–भाग हो,’ अध्यक्ष हुमागाईंले भने, ‘तर, उत्पादित वस्तुको उचित मूल्य नपाउँदा किसान वर्षौँदेखि मर्कामा परिरहेका छन् ।’
अध्यक्ष हुमागाईंले कृषकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी गरिएकोसमेत जनाए । साथै, उपज खरिदमा विशेष छुट तथा सहुलियत दिने योजना बनाइँदैछ ।
उनले भने, ‘कृषक र उपभोक्ता दुवैलाई लाभ हुने गरी हामी योजना बनाउँदैछौँ । कृषकलाई स्थायी बजार दिँदा उत्पादन बढ्छ, उपभोक्तालाई सस्तो मूल्यमा उपज उपलब्ध गराउँदा उनीहरूलाई पनि राहत मिल्छ ।’
कार्यक्रममा कम्पनीका बजार प्रबन्धक अजयकुमार सिंहले कम्पनीको मुख्य उद्देश्य कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र आय–आर्जन वृद्धि रहेको बताए । उनले कृषि उत्पादन, लगानी पहिचान र बजार विस्तारको समन्वयमार्फत समृद्धिको बाटो खुल्नेमा विश्वास व्यक्त गरे ।
सिंहले भने, ‘हामी केवल उपज संकलन गर्ने मात्र नभई उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण शृंखलालाई व्यवस्थित गर्न चाहन्छौं ।’
स्थानीय किसानहरू भने कम्पनीको पहलबाट आशावादी देखिएका छन् । उनीहरूले संकलन केन्द्रमार्फत अब उपज बिचौलियाको हातमा नपर्ने, मूल्यमा पारदर्शिता आउने र नियमित खरिद सुनिश्चित हुने भन्दै स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


