मुख्यमन्त्री सिंहद्वारा सुनकोशी–मरिण डाइभर्सनको निरीक्षण, निर्माणमा ढिलाइप्रति चिन्ता

सिन्धुली, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिन्धुलीको खुर्कोटस्थित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना स्थलगत निरीक्षण गरेका छन् ।
ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवलगायत उच्चस्तरीय टोलीसँगै मुख्यमन्त्री सिंहले आयोजना स्थल पुगेर निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले निर्माण कम्पनीका प्रतिनिधिहरूलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन् । ‘सुनकोशी–मरिण डाइभर्सन मधेश प्रदेशका लाखौँ किसानको जीवनरेखा हो,’ उनले भने, ‘तर, प्रगति अत्यन्तै सुस्त छ, अब ढिलाइ सह्य हुँदैन ।’
सिँचाइमन्त्री यादवका अनुसार निरीक्षण टोलीले निर्माणको हालको अवस्थाबारे प्राविधिक विवरण लिएको छ भने निर्माणमा देखिएका ढिलासुस्ती तथा चुनौतीहरूबारे निर्माण कम्पनीसँग प्रत्यक्ष छलफल पनि गरिएको छ ।

सरकारको योजनाअनुसार सिन्धुलीको सुनकोशी नदीको पानी बागमती नदीको सहायक मरिण खोलामा ल्याएर मधेश प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा र पर्सा जिल्लामा फैलिएका एक लाख २२ हजार हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।
करीब ४९ अर्ब ४२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको यो आयोजनाको हालसम्मको प्रगति मात्र सात प्रतिशत रहेको छ । निर्माण सुरू भएको २८ महिना बितिसक्दा प्रगति सुस्त देखिनु चिन्ताको विषय बनेको छ । निर्माण कम्पनीले अब बाँकी ९३ प्रतिशत काम आगामी २७ महिनाभित्र अर्थात् २०८४ भदौभित्र सम्पन्न गर्नुपर्ने छ ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकार आयोजनाको हरेक पाटोमा निगरानी राख्ने बताउँदै प्रगति नदेखाउने कम्पनीप्रति कडा नीति अपनाइने चेतावनी दिएका छन् । ‘मधेशका किसानले सिँचाइको भरपर्दो स्रोत पाउनुको विकल्प छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


