जनकपुरधाम, १८ साउन । मधेश प्रदेश सरकारअन्तर्गतको श्रम तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

प्रदेशका आठ जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयमार्फत सवारी कर, नवीकरण, नामसारी, रुट परमिट, चालक अनुमतिपत्र वितरण र पटकेकर लगायत शीर्षकबाट उक्त राजस्व संकलन गरिएको हो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत असार मसान्तसम्मको अवधिमा सवारीसाधनसम्बन्धी सेवाबाट उल्लेख्य मात्रामा राजस्व आर्जन भएको हो ।

राजस्व संकलनमा सबैभन्दा अगाडि वीरगंजस्थित यातायात व्यवस्था कार्यालय रहेको छ । त्यहाँबाट एक अर्ब ६२ करोड ४० लाख ४१ हजार ३८४ रुपैयाँ संकलन भएको छ । त्यसपछि जनकपुरधाम कार्यालयबाट ६६ करोड ४३ हजार ९८० र लहानबाट ४९ करोड ७५ लाख ९७ हजार ७७७ रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, राजविराजबाट ११ करोड ७५ लाख ९२ हजार ६६४, बर्दिबासबाट २६ करोड ५१ लाख ५७ हजार, मलङ्गवाबाट ११ करोड ९४ लाख ४६ हजार १८६, गौरबाट ८ करोड ९१ लाख ७० हजार ३६४ र कलैयाबाट ९ करोड ९३ लाख ८४ हजार ४१६ रुपैयाँ राजस्व संकलन भएको हो ।

श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायका अनुसार मन्त्रालयले गत वर्ष सवारी करको जरिवानामा शतप्रतिशत छुट दिने विशेष व्यवस्था लागू गरेको छ । यो आगामी मङ्सिर १७ गतेसम्म कायम रहनेछ । उनले राजस्व वृद्धि र आमजनलाई राहत दिने उद्देश्यले यस्तो कदम उठाइएको बताए ।

मन्त्री रायले भने, ‘यस आर्थिक वर्षमा सरकारको सबैभन्दा बढी आम्दानी श्रम तथा यातायात मन्त्रालयमार्फत भएको छ । सेवा प्रभावकारी बनाउनका लागि कार्यालयहरूमा सोलार प्रणाली जडानको काम अघि बढाइएको छ ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ अन्तर्गत एकमुष्ट १५ वर्षका लागि सवारी नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि सवारीसाधनको मूल्यको पाँच प्रतिशत शुल्क लाग्नेछ । सो ऐन मङ्सिर १९ गते मधेश प्रदेशको राजपत्रमा प्रकाशित भइसकेको छ ।

मन्त्रालयका अनुसार आव २०८१/८२ मा चालु खर्चतर्फ ४८ प्रतिशत र पुँजीगत खर्चतर्फ ३४.४१ प्रतिशत मात्र खर्च भएको छ । मन्त्रालयले खर्च कार्यसम्पादन सुधार गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्दै योजना कार्यान्वयनलाई तीव्रता दिने जनाएको छ ।

उक्त अवधिमा कार्यालय व्यवस्थापन, कानुनी व्यवस्थाको कार्यान्वयन, सेवा प्रवाहमा देखिएका समस्याको समाधानलगायतका विषयमा आन्तरिक छलफल तथा समिक्षा कार्यक्रमसमेत गरिएको मन्त्री रायले जानकारी दिए ।