जनकपुरधाम, १८ साउन । जनकपुरधाम आलु प्याज व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शपथ ग्रहण कार्यक्रम संघका संरक्षक मो. अलाउदीन राईनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष सुरज साह, उपाध्यक्ष अजय कुमार साह, सचिव मनोज साह, सह–सचिव संजय साह र कोषाध्यक्ष सिकेन्द्र साहसहितका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा एमाले नेतृ एवम् पूर्वमन्त्री जुली महतोले जनकपुरधामको बजार व्यवसाय कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् । सीमा पार व्यापारले स्थानीय बजार धराशायी बन्दै गएको उल्लेख गर्दै उनले मधेश प्रदेशको राजधानी जनकपुरधामको बजार संरक्षणका लागि राज्यको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताइन् ।

‘सरकारले सहुलियत, अनुदान वा कुनै पनि माध्यमबाट व्यापारीलाई प्रोत्साहन गर्नु जरूरी छ,’ उनले भनिन्, ‘अहिले खडेरीका कारण धान उत्पादनमा असर पर्ने निश्चित जस्तै छ, यस्तोमा आलु–प्याजजस्ता उपभोग्य वस्तुमा आत्मनिर्भरता हासिल गर्नु अबको आवश्यकता हो ।’

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले व्यवसायीहरूको हितमा व्यापार संघ सधैं अग्रसर रहने प्रतिबद्धता जनाउँदै बजार व्यवस्थापन तथा व्यापार प्रवद्र्धनका लागि सरकारसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष सुरज साहले व्यवसायी संघको नेतृत्व पाएको जिम्मेवारी बोध गर्दै जनकपुरधाममा आलु प्याज व्यवसायलाई व्यवस्थित बनाउने, मूल्यमा एकरुपता ल्याउने र उपभोक्ता–व्यवसायीबीच विश्वासको सेतु निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।