सिरहा, १८ साउन । सिरहा जिल्लाको मिर्चेया नगरपालिका–६ स्थित रेडक्रस टोलमा आइतबार बिहान एक १८ वर्षीया किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

इलाका प्रहरी कार्यालय मिर्चेयाका अनुसार रञ्जना कुमारी ठाकुरले आफ्नै घरको कोठामा पंखामा पासो लगाएर आत्महत्या गरेकी हुन् । बिहान करिब ४ः३० बजे घरको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

घटना थाहा पाएलगत्तै प्रहरी निरीक्षक मुनिलाल यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानपछि थप विवरण संकलन तथा प्रमाण संकलन गर्न प्रहरी निरीक्षक धिरज पटेलको नेतृत्वमा थप टोली खटाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शवलाई मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । युवतीले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।