जनकपुरधाम, १८ साउन । पर्यावरण संरक्षणमा लामो समयदेखि सक्रिय रहेका चुरे तथा वनजंगल संरक्षण अभियन्ता सुनिल यादवलाई ‘३१औँ प्रकाश मानव अधिकार पुरस्कार २०८१’ प्रदान गरिएको छ ।

पुरस्कार ग्रहण गर्दै उनले प्राप्त ५० हजार रुपैयाँ बराबरको नगद राशी अभियानकर्मीहरूसँग साझा गर्दै वृक्षारोपण तथा विरुवा वितरणमा खर्चिने घोषणा गरेका हुन् ।

मानव अधिकार तथा सामाजिक अभियानमा सक्रिय संस्था ‘अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)’ले आयोजना गरेको कार्यक्रममा यादवले अभियानमा साथ दिने पत्रकार, वनकर्मी र सहकर्मीहरूप्रति विशेष आभार व्यक्त गरे ।

‘यो पुरस्कार मेरो मात्र होइन, सम्पूर्ण अभियानकर्मीको हो,’ उनले भने, ‘म अभियान सँगै रहने सबै सहकर्मी, पत्रकार र वनकर्मीप्रति उच्च सम्मानका साथ धन्यवाद प्रकट गर्छु ।’

उनले कार्यक्रम स्थलमै १५० वटा कागतीका विरुवा वितरण गरेका छन् । त्यसको मूल्य ५ हजार १ सय ५० रुपैयाँ बराबर छ । यही वितरणमार्फत अभियानको नयाँ चरण सुरु गरिएको उनले जनाएका छन् ।

यादवले पर्यावरणीय न्याय, हरियाली संरक्षण र जनचेतना विस्तारका क्षेत्रमा विगत एक दशकदेखि सक्रिय भूमिका खेल्दै आएका छन् । उनले आगामी दिनमा वातावरणीय अभियानलाई अझ सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।