जनकपुरधाम, १८ साउन । शनिबार राति परेको भीषण वर्षासँगै खसेको चट्याङले धनुषाको बटेश्वर गाउँपालिका–चित्रपुरस्थित बस्तीमा ठूलो क्षति पुर्याएको छ ।

चट्याङको प्रहारका कारण दर्जनौं घरका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् ।

स्थानीयवासीका अनुसार चित्रपुर टोलका करिब सबै घरमा टिभी, पंखा, बत्ती बल्ब, इनभर्टर लगायतका उपकरणमा क्षति पुगेको हो । शनिबार राति अचानक गडगडाहटसहितको चट्याङ पर्दा घरभित्र रहेका उपकरण एक्कासी बिग्रिएको उनीहरू बताउँछन् ।

‘चट्याङ परेपछि हाम्रो घरको इनभर्टर र टिभी एकैछिनमा जले,’ स्थानीय जितेन्द्र सिंहले भने, ‘छिमेकीकहाँ पनि यस्तै भयो भन्ने सुनिएको छ ।’

चट्याङबाट मानवीय क्षति भने भएको छैन । तर, अधिकांश घरमा विद्युत् उपकरणका साथै विद्युतीय लाइनसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।