सप्तरी, १५ साउन । शारीरिक रुपमा अशक्त व्यक्तिहरूको हक, अधिकार र आत्मनिर्भर जीवनयापन सुनिश्चित गर्न समावेशी अपाङ्ग संघ सप्तरीले १० बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

संघको ८औं वार्षिक साधारणसभा तथा संस्थागत नीति अनुमोदन कार्यक्रम बिहीवार राजविराजमा सम्पन्न भएको हो । कार्यक्रममा संघका अध्यक्ष सतीश चन्द्र झाले चालु आर्थिक वर्ष २०८२/०८३ मा अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउने उद्देश्यले विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

उनका अनुसार घोषित नीतिमा जनचेतना अभिवृद्धि, अधिकार सुनिश्चितता, पुनःस्थापना, क्षमता विकास, सूचना तथा प्रविधिमा पहुँच, विपद् जोखिम न्यूनीकरण, रोजगार तथा व्यवसाय तालिम जस्ता कार्यक्रम समावेश छन् ।

यस्तै, महिला नेतृत्व विकास, कार्यालय व्यवस्थापन, जलवायु तथा वातावरण नीति, अपाङ्गता सहायक सामग्री वितरणजस्ता कार्यक्रमसमेत यो वर्ष सञ्चालन गरिने संघले जनाएको छ ।

कार्यक्रममा शुभकामना दिँदै बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीका अध्यक्ष जगदीश प्रसाद अर्यालले संघका योजनाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले घोषित नीतिहरूको प्रभावकारी कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताए ।

राजविराज नगरपालिकाकी महिला विकास अधिकृत अनिता चौधरीले संघको अभियान सराहनीय रहेको भन्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा संघका सचिव अशोक कुमार यादवले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राधा अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्था शिक्षा अधिकृत ज्ञानेन्द्र कुमार झाले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष अनिल दास, सबल नेपालका कार्यकारी निर्देशक दीपक कुमार झा, एनसीई नेपालका अधिकृत जगत कामत, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका कार्यक्रम संयोजक प्रकाश नेपाली, लेखा समिति संयोजक नरेश चौधरी लगायतले धारणा राखेका थिए ।

संघले आगामी दिनमा अपाङ्गता भएका नागरिकहरूको समावेशी सहभागिता सुनिश्चित गर्ने थप अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।