महिला सशक्तिकरणका लागि उद्यमशीलताको प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री सिंह

सिरहा, १५ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि उनीहरूलाई उद्यमशील बनाउनु अनिवार्य रहेको बताएका छन् ।
बिहीबार लहानमा आयोजित महिला उद्यमी संघ नेपाल, सिरहाको नवगठित कार्यसमिति घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ उत्पादनमूलक क्षेत्रमा सक्रिय गराइनु आवश्यक रहेको धारणा राखे ।
‘महिलाले बनाएका परम्परागत तर गुणस्तरीय वस्तुहरू जस्तै फर्सीको बीउ, गुन्द्रुक, आँपको अचार आदि अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन सकिने अपार सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि गुणस्तर, बजारीकरण र प्रविधिको प्रयोगमा जोड दिनुपर्छ। ’
मुख्यमन्त्री सिंहले स्वदेशी उत्पादन र उपभोगमा जोड दिँदै साना वस्तुहरूको अनावश्यक आयातले स्वदेशी उद्योग प्रभावित भएको उल्लेख गरे । साथै महिला उद्यमीहरूलाई तालिम, सीप अभिवृद्धि र प्रविधिको ज्ञान दिइ आर्थिक रूपमा सबल बनाउने कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
कार्यक्रममा महिला उद्यमी महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले स्वदेशी खाउँ, स्वदेशी लाउँ, स्वदेशी उद्यमीलाई प्रोत्साहन गरौं भन्ने नाराका साथ देशका सबै ७७ जिल्लामा संघ विस्तार भइसकेको जानकारी दिइन् । ‘महिला उद्यमशिलताको विकासले केवल महिला नभई सम्पूर्ण परिवार र समाजको उन्नति सुनिश्चित गर्छ,’ उनले भनिन् ।
लहान नगर प्रमुख महेशप्रसाद चौधरीले महिलाले उद्यममार्फत विदेश गएका पुरुषको भन्दा बढी आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले तालिम र रोजगारीका अवसरहरू विस्तार गरिरहेको बताए । उनले आगामी दिनमा प्रत्येक वडामा महिला समितिमार्फत उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले महिलाको आर्थिक सबलीकरणले महिला हिंसा न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले मधेशमा महिला प्रहरीको संख्या अपुग रहेको बताउँदै सबै क्षेत्रले समन्वय गरी महिला सशक्तिकरणमा हातेमालो गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा खुश्बु जैसवालको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी संघ नेपाल, सिरहा गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

