जेल जीवन सकेका रामबाबु पुनः रक्तरञ्जित अपराधमा संलग्न

जनकपुरधाम, १५ साउन । जनकपुरधाममा १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको विभत्स हत्या आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । रामबाबु यसअघि आफ्नै श्रीमतीको हत्या गरेर पाँच वर्ष जेल सजाय भोगी २०७७ मा रिहा भएका थिए ।
धनुषा प्रहरीले बिहीवार पत्रकार सम्मेलनमार्फत रामबाबुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित डेरामा बस्दै आएकी किशोरी अञ्जलीमाथि गत सोमबार राति खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार घटनामा अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका–१ ढल्केवर निवासी १४ वर्षीया किशोरी आशा यादव समेत गम्भीर घाइते भएका छन् । तीमध्ये अञ्जलीकी आमा आशाको अवस्था चिन्ताजनक रहेको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा आशा यादव र रामबाबुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । रामबाबुले जेलबाट छुटेपछि गाउँमै दोस्रो विवाह गरी बस्दै आएका थिए । आशा भने पूर्व श्रीमानसँग सम्बन्ध विच्छेद गरी दुई छोरा र एक छोरी छोडेर रामबाबुसँग बस्न थालेकी थिइन् ।
प्रनाउ सिंहका अनुसार आशासँगको सम्बन्ध बिग्रँदै गएपछि उनी पुनः पूर्व श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले रिसको आवेगमा हत्याको योजना बनाएका थिए । हत्या गर्ने रात रामबाबुले खुकुरी लिएर आशाको डेरामा पुगेर अञ्जलीमाथि प्रहार गरेका थिए । घटनामा आशा र अर्की किशोरी पनि घाइते बनेका थिए ।
घटनाको अनुसन्धानलाई प्रहरीले थप विस्तार गरिरहेको छ । रामबाबुबिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


