जनकपुरधाम, १५ साउन । लैंगिक हिंसाका घटनाहरूको प्रभावकारी व्यवस्थापन तथा पीडितलाई सेवा प्रेषण गर्न लक्षित ‘लैंगिक हिंसा सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२’ को मस्यौदा मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाललाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित निर्देशनाको मस्यौदा तयार पार्न गठित कार्यदलले बिहीबार मन्त्रालय पुगेर मन्त्री जयसवाललाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो । कार्यदलका संयोजक तथा समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्रले मस्यौदा प्रतिवेदन मन्त्रीसमक्ष प्रस्तुत गरेकी हुन् ।

मस्यौदा बुझ्दै मन्त्री जयसवालले मधेश प्रदेशमा परम्परा र संस्कृति आडमा भइरहेका लैंगिक हिंसाका घटनाहरू गम्भीर प्रकृतिका भएको उल्लेख गर्दै यस्ता समस्याको अन्त्यका लागि निर्देशिकाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘पीडितको पुनःस्थापना, न्याय सुनिश्चितता र हिंसाविरुद्धको अभियानमा यो दस्तावेज मार्गदर्शक बन्नेछ,’ उनले भने ।

मन्त्री जयसवालले प्रदेश सरकारले सञ्चालन गर्दै आएको महिला हिंसाविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवले निर्देशनालाई एक जीवित दस्तावेजको रूपमा व्याख्या गर्दै आवश्यकता अनुसार संशोधन गर्दै अघि बढ्न सकिने धारणा राखे ।

सीएमसी नेपालका कन्सल्टेन्ट कोषराज न्यौपानेले निर्देशिकाले कानुनी सहायता, मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार, अल्पकालीन तथा दीर्घकालीन सुरक्षा र जीविकोपार्जनको समेत व्यवस्था समेटेको जानकारी दिए ।

गत वैशाख १५ गते गठन गरिएको कार्यदलमा खेलकूद तथा समाज कल्याण मन्त्रालयसहित अर्थ, गृह, स्वास्थ्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, प्रादेशिक अस्पतालको ओसीएमसी इकाई, युएनएफपीए, सीएमसी नेपाल, ईयू एजेन्सीज तथा राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू सहभागी थिए ।