लोसपाका केन्द्रीय सदस्य प्रशान्त गुप्ता पार्टीबाट निष्काशित

जनकपुरधाम, १४ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको आरोपमा केन्द्रीय सदस्य प्रशान्त गुप्ता (महेन्द्र) लाई पार्टीबाट निष्काशन गरेको छ ।
पार्टी अध्यक्ष महन्त ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै गुप्ताले पार्टीको प्रतिष्ठामा आँच पुर्याउने अभिव्यक्ति दिएको र पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाएका हुन् ।
रुपन्देही निवासी गुप्ता २०७९ सालको प्रदेशसभा निर्वाचनमा लोसपाका उम्मेदवार थिए । हालै लुम्बिनी प्रदेशमा मन्त्री बनेका सन्तोष पाण्डेयको आलोचना गर्दै गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पार्टी नेतृत्व र संसदीय दलमाथि प्रश्न उठाएका थिए ।
उनले पटक–पटक मन्त्री बन्ने अवसर पाएका पाण्डेयको सट्टा पार्टीका उपनेता कनैया बानियालाई मन्त्री बनाइनुपर्ने धारणा राख्दै नेतृत्वको आलोचना गरेका थिए ।
सन्तोष पाण्डेयले प्रदेश संसदीय दलको नेता र प्रदेश अध्यक्षका रूपमा कुनै परामर्श नगरी मन्त्री बनेको भन्दै बानियाले पनि असन्तुष्टि जनाएका छन् ।
पाण्डे एकै दिन विपक्षमा बसेर सत्तापक्षको पक्षमा बजेटमा मत दिँदा विवादमा तानिएका थिए । उनको आलोचना लोसपाभित्रै तीव्र बनेको छ । कार्यकर्ताहरूले पाण्डेय सरकारमा जान हतार गरेको, पटक–पटक मन्त्री बनेको र प्रदेशसभा दोहोरिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
लोसपाले गुप्ताविरुद्ध कारबाही गर्दै पार्टी अनुशासन उल्लंघन नगर्न सबै नेता तथा कार्यकर्तालाई पनि सचेत गराएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


