सिरहामा ८० वर्षीय वृद्धको घरमै सुतिरहेको अवस्थामा हत्या

सिरहा, १४ साउन । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ आमचोकमा मंगलबार राति एक ८० वर्षीय वृद्धको घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
आफ्नै घरमा सुतेका फनिलाल यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले प्रहार गरेको उनका छोरा कपिलदेव यादवले बताए । ‘बिहान अबेरसम्म बुबा नउठेपछि खोज्दा उहाँ गम्भीर घाइते अवस्थामा भेटिनुभयो,’ उनले भने, ‘लगत्तै लहानस्थित प्रादेशिक अस्पताल लग्यौँ । तर, उपचारको क्रममा उहाँको मृत्यु भयो ।’
घटनापछि प्रहरी ढिलो पुगेको भन्दै आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर एक घण्टा सडक अवरुद्ध गरे ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान जारी छ । उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो रिसिइबीको आशंका गरिएको छ । दोषी पहिचान भएसँगै कानुनी प्रक्रिया अघि बढाइनेछ ।’
प्रहरीले घटनास्थलबाट केही प्रमाण संकलन गरेको र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


