पुरानो घर भत्किँदा च्यापिएर ६ वर्षीय बालकको मृत्यु

सर्लाही, १४ साउन । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–६ स्थित कामद टोलमा बुधबार दिउँसो एक पुरानो घर भत्किँदा च्यापिएर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
स्थानीय नविन सिंहको दुईतले पक्की घर अपराह्न करिब ४ः३० बजे अचानक भत्किँदा आँगनमा खेलिरहेका बालक अरुण माझीको च्यापिएर घटनास्थलमै ज्यान गएको हो । मृतक सोही टोलका गौतम माझीका छोरा हुन् ।
घटनापछि प्रहरी चौकी नाढिमनबाट चार जनाको प्रहरी टोली र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा थप टोली खटिएको थियो । टोलीले तुरुन्त उद्धार कार्य थाल्दै भत्किएको संरचना हटाएको जनाएको छ ।
स्थानीयवासीले अरु व्यक्तिहरू पनि पुरिएको हुन सक्ने आशंका गरेका थिए । तर, प्रहरी र स्थानीयको सक्रियतामा गरिएको उद्धारपछि थप कोही नपुरिएको पुष्टि भएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार घरको संरचना निकै पुरानो, कमजोर र जीर्ण अवस्थामा रहेकाले अकस्मात भत्किएको अनुमान गरिएको छ । घटनास्थल प्रहरी चौकी नाढिमनबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


