सर्लाही, १४ साउन । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत तालमा अन्दाजी २२ वर्षीया एक अज्ञात युवतीको शव फेला परेको छ ।

तालमा शव तैरिरहेको सूचना पाएपछि बुधबार दिउँसो इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार तालको पानीमा तैरिरहेको शव निलो जिन्स पाइन्ट, हरियो कुर्ता र हातमा रातो बाला लगाएकी युवतीको रहेको छ । तत्कालै डुङ्गाको सहायताले शवलाई तालको पूर्व किनारमा ल्याइएको थियो । तर, हालसम्म मृतकको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय कर्मैयाबाट करिब ३ किलोमिटर दक्षिणमा पर्छ । प्रारम्भिक अनुसन्धानका लागि प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय हरिवनबाट अर्को टोलीसमेत घटनास्थल पुगेको थियो ।
प्रहरीले शव कसरी तालमा पुग्यो भन्ने विषयमा विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।