जनकपुरधाम, १४ साउन । श्रीरामानन्दीय श्रीवैष्णव संघको आयोजनामा श्री तुलसी स्मारकमा बिहीबार तुलसी जयन्ती महोत्सव भव्य रूपमा मनाइँदैछ ।

महोत्सवको अवसरमा दिउँसो २ बजे तुलसी स्मारक परिसरबाट सुरु हुने शोभायात्रामा नगरवासीको सहभागिताका लागि आयोजक समितिले विशेष आग्रह गरेको छ ।

यस अवसरमा श्री तुलसीदासको स्मृतिमा विविध आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिनेछ । शोभायात्रा श्रीरामानन्दीय परम्पराको झलक दिनेगरी नगरका प्रमुख मार्गहरू परिक्रमा गर्ने श्रीरामानन्दीय श्रीवैष्णव संघका अध्यक्ष रामरोशन दासले बताए ।

उनका अनुसार शोभायात्राले धार्मिक सहिष्णुता, सांस्कृतिक जागरण र जनसमुदायमा अध्यात्मिक चेतना फैलाउने उद्देश्य लिएको छ । सम्पूर्ण नगरवासीलाई सहभागी भई महोत्सवलाई सफल बनाउन अनुरोध गरिएको छ ।

महोत्सव ‘जय सियाराम’ उद्घोषका साथ सम्पन्न गरिनेछ । आयोजकले श्रद्धालुहरूलाई समयमै उपस्थित भई अनुशासित रूपमा सहभागी हुन आग्रह गरेका छन् ।