सबैको ‘एनआरएनए’ बनाउने नायकको संकल्प


न्यूयोर्क, १३ साउन । अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि युएसएमा नेतृत्व परिवर्तनको लहर सुरु भएको छ ।
परम्परागत गुटगत प्रतिस्पर्धाबाट थाकेका प्रवासी नेपाली समुदायबीच अब नयाँ पुस्ताको नेतृत्व, पारदर्शिता र सहभागितामूलक अभियानको माग चुलिँदै गएको छ ।
यही सन्दर्भमा अविनाश नायकले २०२५–२०२७ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्दै संस्थाभित्र आशाको नयाँ सम्भावना उजागर गरेका छन् ।
नायकको उम्मेदवारीलाई धेरैले संस्थागत सुधार, युवा सहभागिता र साझा पहिचानको अभियानको रूपमा लिएका छन् । ‘एनआरएनए अब केही व्यक्तिको निजी एजेन्डा पूरा गर्ने संस्था बन्नु हुँदैन, यो सम्पूर्ण नेपाली समुदायको साझा आवाज हो,’ नायकले भने ।
नायकले पारदर्शी र सहभागी कार्यशैलीका आधारमा एनआरएनएलाई पुनर्संरचना गर्ने स्पष्ट खाका पनि सार्वजनिक गरे । ‘अब एनआरएनएलाई परिवर्तनको दिशामा लैजान आवश्यक छ । यसमा अग्रजको अनुभव, युवाको जोश, महिलाको सहभागिता र सबै समुदायको सशक्त उपस्थिति हुने गर्दछ,’ नायकको भनाइ छ ।
अहिलेसम्म एनआरएनएभित्र देखिएको गुटबन्दी र सीमित नेताहरूको वर्चस्वप्रति उनले संस्थालाई समावेशी बनाउने खाँचो औँल्याए । ‘एकता अब नारामा सीमित नभई व्यवहारमा देखिनु पर्छ,’ उनले भने ।
उनको अभियानले खासगरी युवापुस्ताको ध्यान खिचेको छ । ‘हामी पद होइन, दायित्वको भावनाले अघि बढिरहेका छौं,’ नायकले भने, ‘एनआरएनएलाई अब टेबलको वरिपरि सिमित बैठकको संस्था नभई प्रत्येक नेपालीको भागीदारी हुने खुला मञ्च बनाउनुपर्छ ।’
नायकले अग्रजहरू, महिला, युवा र समुदायप्रेमी शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईंहरूको सुझाव, सहयोग र समर्थनले नै मलाई अगाडि बढ्ने ऊर्जा दिनेछ ।’
उनको उम्मेदवारीसँगै अब एनआरएन अमेरिकाको निर्वाचन प्रतिस्पर्धाभन्दा परिवर्तनको बहसमा प्रवेश गरिरहेको छ । नायकजस्ता उम्मेदवारले समुदायको विश्वास जिते एनआरएनएको संरचना र कार्यशैलीमा अपेक्षित सुधारको ढोका खुल्ने आशा पलाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
