महोत्तरी, १४ साउन । साउनको दोस्रो साता लागिसक्दासमेत महोत्तरीका किसान आकाशतिर हेरेर पानीको प्रतीक्षा गरिरहेका छन् । वर्षा हुने आशाले झुलिरहेका किसानको आँखामा अब निराशा थपिँदै गएको छ ।

लामो खडेरीले खेत सुकाएपछि रोपाइँमा व्यापक असर परेको भन्दै उनीहरू चिन्तित बनेका छन् ।

‘साउनमा खेतमा हरियाली छाउँनुपर्ने हो, हामी अझै रोप्न पाउँछौँ कि भनेर आकाश ताकिरहेका छौँ,’ भङ्गाहा–१ का किसान रामकिसन मण्डल भन्छन् । उनका अनुसार यो वर्ष धानको बीउ राख्ने, बीउ रोप्ने र खरुअन रोप्ने परम्परागत तालिका खलबलिएको छ । साउन २२ गतेभित्र खरुअन रोपाइँ सक्ने मान्यता रहे पनि यहाँको धेरैजसो खेत अझै बाँझै छन् ।

मधेश प्रदेशको कृषि समयतालिका अनुसार जेठ २२ भित्र धानको बीउ राख्नुपर्ने, असार २२ भित्र पहिलो रोपो रोपिसक्नुपर्ने र साउन २२ गतेभित्र खरुअन रोपाइँ पूरा गर्नुपर्ने मानिन्छ । तर, पानी नपरेपछि यो तालिका अब कागजमा सीमित भएको किसान इस्राफिल राइन बताउँछन् ।

‘खडेरीले न खेतमा चिस्यान छोड्यो, न बीउ उमार्न सकिने स्थिति बाँकी राख्यो,’ उनले भने, ‘अहिले पानी पर्ला भन्ने आशामा बसेका छौँ । तर, आकाश हेर्दा त्यो पनि टाढा जस्तो लाग्छ ।’

महोत्तरीमा साउन दोस्रो साता बित्दासमेत मात्र ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रोपिएका खेतमध्ये धेरैजसो इनार, डिपबोरिङ वा स्यालो ट्युबवेलको सहारामा रोपिएको हो । सामान्य किसानका लागि ती वैकल्पिक सिँचाइ प्रणाली प्रयोग गर्न आर्थिक रुपमा सम्भव छैन ।

‘आफ्नो खेतमा इनार छैन, बोरिङ छैन,’ बर्दिबास–७ का किसान रितबहादुर खत्रीले भने, ‘भाडामा इन्जिन लिएर खेत सिँचाइ गर्दा घरको अन्नपात सकियो, अब त के खाएर जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको छ ।’

कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवका अनुसार महोत्तरीमा खेतीयोग्य ७१ हजार हेक्टरमध्ये ४२ हजार ५०० हेक्टरमा धानखेती गर्न मिल्ने जग्गा छ । तर, यहाँ स्थायी सिँचाइ सुविधा मात्र १० प्रतिशत जग्गामा उपलब्ध छ । पछिल्ला वर्षहरूमा इनार, बोरिङ र स्यालोट्युबबेलजस्ता वैकल्पिक सिँचाइका माध्यमबाट थप १० प्रतिशत क्षेत्रमा सिँचाइ सम्भव भएको हो ।

‘यसपालिको खडेरी यति लामो भयो कि कुलो र नहरका मुहान सुक्न थालेका छन्,’ यादवले भने, ‘जसले गर्दा बोरिङ र इनारसमेत प्रभावहीन बन्दै गएका छन् ।’

स्थानीय किसानहरूका अनुसार चैत–वैशाखको हावाले खेतमा भएको चिस्यान पनि सुकाउँदै लगेको छ । बीउ रोप्नुपर्ने असार २२ पनि बितिसक्दा धेरै खेतहरूमा अझै बीउ समेत उमारिएको छैन । यसअघि रोपिएको रोपो पनि राम्रोसँग नफुलेपछि खरुअन रोपाइँको आशा टुट्दै गएको छ ।

सरकारले मधेशसहितका जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । तर, किसान भन्छन्, ‘घोषणा मात्रै भएर केही हुँदैन, राहतका कार्यक्रम, सिँचाइ व्यवस्थापन, मल–बीउको उपलब्धता र प्रविधिक सहयोग आवश्यक छ ।’

‘घोषणा गरेर सरकार टुलुटुलु हेरेर बस्ने हो भने किसानलाई कसले जोगाउँछ?’ किसान मण्डलको प्रश्न छ । उनीहरू तीनै तहका सरकारले समन्वय गरेर आकस्मिक राहत, सिँचाइको वैकल्पिक प्रबन्ध र आगामी वर्षका लागि बीउ संरक्षणको पहल तत्काल लिनुपर्ने को माग गरेका छन् ।

जलवायु परिवर्तन, सरकारी तयारीको कमजोरी र कृषिमा पर्याप्त लगानी नहुँदा खडेरी महोत्तरीका किसानका लागि मात्र नभई सम्पूर्ण मधेशका लागि खाद्य सुरक्षाको गम्भीर खतरा बन्दै गएको छ ।