अमेरिकाबाट एनआरएनए नेतृत्वमा राजु साहको दाबी

न्यूयोर्क, १३ साउन । अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचन नजिकिँदै गर्दा विभिन्न राज्यमा रहेका नेपाली समुदायमा चुनावी सरगर्मी बढेको छ ।
यसै सन्दर्भमा राजु साहले बोर्ड अफ डाइरेक्टर एनआरएनए एनसिसि युएसए (२०२५–२०२७) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आफू बोर्ड अफ डाइरेक्टर पदका लागि प्रत्यासी रहेको जानकारी सार्वजनिक गर्दै नेपाली समुदायको सहयोग र समर्थनका लागि अपील गरेका छन् ।
साहले उम्मेदवारी घोषणासँगै एक सशक्त, पारदर्शी र सहभागी नेतृत्वको खाका प्रस्तुत गरेका छन् । उनले एनआरएनएलाई अब गुटगत सोचभन्दा माथि उठाएर समावेशी र साझा संस्था बनाउनु पर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘एनआरएनए केवल केही व्यक्तिको नेतृत्वमा सीमित संस्था नभई यो सम्पूर्ण विश्वभर रहेका नेपालीहरूको साझा पहिचान हो । अब सबैको आवाज, सबैको सहभागिता र पारदर्शी कार्यशैलीको खाँचो छ ।’
साहले विशेषगरी अमेरिकाभर रहेका अग्रज, युवा, महिला र समुदायप्रेमी शुभेच्छुकहरूलाई लक्षित गर्दै यस्तो अपील गरेका छन् । उनले भने, ‘तपाईंहरूको अमूल्य सुझाव, निरन्तर सहयोग र बहुमूल्य समर्थनले मलाई अघि बढ्ने हौसला मिल्नेछ ।’
उनले आफ्नो उम्मेदवारीलाई केवल पदको आकांक्षा नभई एनआरएनएमा सकारात्मक रूपान्तरण ल्याउने अवसरको रूपमा प्रस्तुत गरेका छन् । ‘एनआरएनएलाई सबल, उत्तरदायी र जनउत्तरमुखी बनाउनका लागि म तपाईंहरूको साथ र मतको अपेक्षा राख्दछु,’ उनले अपील गर्दै भने ।
साहले वर्तमान समयमा एनआरएनएभित्र देखा परेको गुटबन्दी र नेतृत्वको सीमितताप्रति संकेत गर्दै सबै नेपालीलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता औँल्याएका छन् । उनले भने, ‘एकता अब विकल्प नभई अपरिहार्य आवश्यकता हो ।’
उनले नेपाली डायस्पोराको समृद्धि, पहिचान संरक्षण र सामाजिक समावेशीताका लागि साझा उद्देश्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजु साहको उम्मेदवारीसँगै एनआरएन अमेरिकाको निर्वाचनमा नयाँ बहस र सम्भावनाको ढोका खुलेको विश्लेषण गरिँदैछ ।
‘एनआरएनएमा एकता, आजको आवश्यकता’ भन्ने नारासहित साह अघि बढेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


