जनकपुरधाममा खुकुरी आक्रमणः किशोरीको मृत्यु, आमा र बालिका गम्भीर घाइते

जनकपुरधाम, १३ साउन । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सूर्यनन्द चौधरीको घरमा सोमबार राति भएको खुकुरी आक्रमणमा १५ वर्षीया किशोरी अञ्जली कुमारी यादवको ज्यान गएको छ भने उनकी आमा आशा देवी यादव र अर्की एक बालिका राधा यादव गम्भीर घाइते भएकी छन् ।
घरेलु पारिवारिक रिसइबीको कारण भएको भनिएको उक्त आक्रमणले जनकपुरमा त्रासको वातावरण सिर्जना गरेको छ ।
प्रहरीका अनुसार, राति साढे ११ बजे घरमा डेरागरी बस्दै आएकी ३५ वर्षीया आशा देवी, उनकी १५ वर्षीया छोरी अञ्जली र १४ वर्षीया राधा यादवमाथि धारिलो हतियार खुकुरी प्रयोग गरी आक्रमण गरिएको थियो ।
घटनास्थलमै अञ्जलीको मृत्यु भएको पुष्टि गरिएको छ । घाइते आशा देवी र राधा यादवलाई तत्कालै प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । दुवैको अवस्था गम्भीर रहेकोले विराटनगर रेफर गरिएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा, आक्रमण गर्ने मुख्य अभियुक्तको पहिचान ३५ वर्षीय रामबाबु साह कलवारको रूपमा भएको छ । उनी आशा देवीका पुराना चिनजानका व्यक्ति हुन् । रामबाबु साह हाल फरार रहेका छन् । उनका बारेमा अनुसन्धान तीव्र रूपमा जारी रहेको प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, रामबाबुले पारिवारिक रिसइबीका कारण आशा देवीको कोठामा पसेर तीनै जनामाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । स्थानीयका अनुसार, मृतक किशोरी अञ्जली अध्ययनका लागि आमासँग डेरामा बस्दै आएकी थिइन् । घटनाको समयमा तीनै जना एउटै कोठामा सुतिरहेका थिए ।
अचानक कोठामा पसेका रामबाबुले खुकुरी निकालेर आक्रमण गरेका थिए । टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका कारण अञ्जलीको घटनास्थलमै ज्यान गएको थियो ।
रामबाबुको विगत पनि आपराधिक क्रियाकलापमा मुछिएको खुलेको छ । उनले करीब पाँच वर्षअघि आफ्नै पहिलो श्रीमतीको हत्या गरेका थिए । त्यसपछि उनले दोस्रो विवाह गरेका थिए । यस्ता आपराधिक गतिविधिमा संलग्न रामबाबुले पुनः जघन्य अपराध दोहोर्याएको देखिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको र अपराधीलाई छिट्टै नियन्त्रणमा लिने प्रहरीले दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


