जनकपुरधाम, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेशका जिल्लाहरूमा पाँच सय डिपबोरिङ जडान गर्ने घोषणा गरेपछि नेपाल विद्युत प्राधिकरणले आवश्यक विद्युत आपूर्तिको तयारी तीव्र पारेको छ ।

यसै सन्दर्भमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जनकपुरधाम पुगेका छन् । उनले सिरहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका वितरण केन्द्र प्रमुखहरूसँग बैठक गर्दै बोरिङ सञ्चालनका लागि आवश्यक विद्युत पूर्वाधार र आपूर्तिबारे छलफल गरेका छन् ।

शाक्यले भने, ‘अबको एक महिनाभित्रै बोरिङ जडानको काम सम्पन्न गर्ने लक्ष्यसहित हामी अघि बढिरहेका छौं ।’ उनले थपे, ‘वितरण केन्द्र प्रमुखहरूसँग समन्वय गरी कार्ययोजना निर्माण गरिएको छ । फिल्डमै टोली खटाएर सिँचाइका लागि डिपबोरिङ जडान गरिने स्थानहरूको पहिचान गरिनेछ ।’

नेपाल विद्युत प्राधिकरणले सिँचाइका लागि डिपबोरिङ जडानको कामलाई प्राथमिकतामा राखेर किसानहरूको प्रत्यक्ष समस्या बुझ्ने र आवश्यकता अनुसार विद्युत आपूर्ति सुनिश्चित गर्ने नीति अनुसार काम गरिरहेको जनाएको छ । यसका लागि ट्रान्सफर्मर, लाइन विस्तार र क्षमता वृद्धि सम्बन्धी पूर्वाधार निर्माणको स्थलगत अध्ययन गरी योजना कार्यान्वयन गरिने शाक्यले बताए ।

सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा समयमै प्राप्त गर्नका लागि प्राधिकरणले सक्रियता बढाएको छ । वितरण केन्द्रहरूलाई पनि तयारी गर्न निर्देशन दिइएको छ ।

मधेशमा विगत केही वर्षदेखि समयमै वर्षा नहुँदा खेती प्रभावित भइरहेको छ । यसका कारण किसानहरूलाई सिँचाइका लागि विकट समस्या भोग्नुपरेको छ । डिपबोरिङ जडानले किसानलाई समयमै पानीको सुविधा उपलब्ध गराएर कृषि उत्पादनमा सुधार ल्याउने विश्वास गरिएको छ ।