धनुषामा एनसिसी सल्लाहकार समिति गठन

जनकपुरधाम, १३ साउन । नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन हुने राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रमअन्तर्गत धनुषामा सल्लाहकार समिति गठन गरिएको छ ।
कार्यक्रमको उद्देश्य अनुशासन देशभक्ति र नेतृत्व विकासलाई प्रोत्साहन गर्दै अब ग्रामिण क्षेत्रका विद्यार्थीहरूलाई पनि समेट्न तयारी गरिएको छ ।
श्री विष्णु दल गण, महेन्द्रनगरका गणपति प्रमुख सेनानी प्रभु राम महतको संयोजकत्वमा गठित सल्लाहकार समितिमा शिक्षा अभियन्ता डा. सोनु साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सन्तोष गुप्ता र समाजसेवी जग्गीलाल महतो सदस्य रहेका छन् ।
कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई समेट्ने व्यवस्था गरिएको छ । वर्तमानमा, धनुषामा चार सामुदायिक र एक निजी विद्यालयका १२० जना छात्रछात्रा एनसिसी तालिममा संलग्न छन् ।
यस वर्षदेखि जनकपुरधामसँगै विदेह नगरपालिका र बटेश्वर गाउँपालिकाका विद्यालयहरूमा पनि तालिमको विस्तार गरिएको छ ।
एनसिसी कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तामा अनुशासन, नेतृत्व, सामाजिक उत्तरदायित्व र देशप्रतिको समर्पण भावना अभिवृद्धि गर्नु रहेको छ । कार्यक्रमको संरक्षक प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधानसेनापति हुने व्यवस्था गरिएको छ ।
सिनियर डिभिजन (कक्षा ११ र १२) र जुनियर डिभिजन (कक्षा ८ देखि १०) का विद्यार्थीहरूले १०० दिनको तालिम लिनेछन् । यसमा ७९ दिन विद्यालयमै नियमित प्रशिक्षण र २१ दिन नेपाली सेनाको ब्यारेकमा आवासीय क्याम्प हुनेछ । तालिममा ड्रिल, तेक्वान्दो, एरोबिक्स, नक्शा अध्ययन, विपद् व्यवस्थापन र गन अभ्यासजस्ता विषयहरू समावेश छन् ।
कार्यक्रमका प्रशिक्षार्थीहरूले विपद् उद्धार, सामाजिक सेवा, वृक्षारोपण, ट्राफिक सचेतना र अन्य सामाजिक अभियाना पनि चलाएका छन् । २०२२ मा सुरु भएको यस कार्यक्रममा हालसम्म देशभर ८० हजारभन्दा बढी युवाले तालिम लिइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


