चुरेको अस्तित्व बचाउन आँखामा कालोपट्टी बाँधेर विरोध

जनकपुरधाम, १३ साउन । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले प्रतिनिधिसभामा छलफलमा रहेको भूमि व्यवस्थापनसम्बन्धी विधेयकको विरोध गर्दै अनौठो प्रदर्शन गरेका छन् ।
यादवले आँखामा कालोपट्टी बाँधेर जनकपुरधामका प्रमुख चोकहरू जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री कार्यालयसम्म परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
यादवले प्रदर्शनको क्रममा प्रदेश सरकारलाई सात बुँदे ज्ञापनपत्र बुझाउँदै विधेयक फिर्ता लिन माग गरेका छन् । उनले प्रतिनिधिसभामा प्रस्तुत भूमि विधेयक पारित भएमा सरकारी वन क्षेत्रको अस्तित्व संकटमा पर्ने चेतावनी दिए ।
‘यदि यो विधेयक पारित भयो भने भू–माफियाको नियन्त्रण बढेर चुरे क्षेत्रको दोहन तीव्र हुनेछ । यसले मधेशलाई मरुभूमिमा परिणत गर्ने जोखिम पैदा गर्छ,’ उनले भने ।
यादवले विधेयकको विरोधसँगै चुरे क्षेत्रको संरक्षण र मधेशको जल संकट समाधानका लागि गम्भीर मागहरू उठाए । उनले सरकार र सांसदहरूलाई चुरे क्षेत्रको संवेदनशीलता बुझेर विधेयक तत्काल फिर्ता लिन आग्रह गरे ।
‘यदि चुरे क्षेत्रलाई संरक्षण गर्न सकिएन भने केही दशकमा मधेशमा पानीको अभावसँगै जीवनयापन असम्भव हुनेछ,’ उनले चेतावनी दिएका छन् ।
ज्ञापनपत्रमा उनले मधेश प्रदेशलाई सुख्खाखडेरी र जल संकटग्रस्त क्षेत्र घोषणा गरेपछि किसानलाई राहत नपुगेको कुरा उठाउँदै तत्काल राहत र क्षतिपूर्तिको घोषणा गर्नुपर्ने कुरा राखेका छन् । साथै, खानेपानी समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सुनिश्चित गरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् ।
चुरे संरक्षण र जल स्रोत व्यवस्थापनका लागि लामो समयदेखि संघर्षरत यादवले चुरे क्षेत्रको वन फँडानी, अवैध उत्खनन र भू–माफियाको हस्तक्षेपका कारण जल संकट अझै गम्भीर बनिरहेको यादवले बताए ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


