जनकपुरधाम, १३ साउन । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा चार वर्ष अघि सिँचाइको सुविधा पुर्याउनका लागि गाडिएका १७ वटा डिप ट्युबवेल अझै सञ्चालनमा आएका छैनन् ।

स्थानीय सरकारले साढे २ करोड रुपैयाँभन्दा बढी खर्च गरेर यी ट्युबवेल गाडे पनि समयमै सञ्चालन नगरेपछि यी सिँचाइ पूर्वाधारहरू जीर्ण हुँदै गएको हो ।

सिँचाइका लागि गाडिएका यी ट्युबवेल सञ्चालनमा नआउँदा बटेश्वर र आसपासका क्षेत्रका किसानहरू सिँचाइ समस्यामा परेका छन् । स्थानीय किसानहरूले आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । तर, वर्षा नहुँदा उनीहरूको कृषि उत्पादनमा गिरावट आएको छ ।

ट्युबवेलसम्बन्धी जानकार रामविरोध महतोका अनुसार, ‘ट्युबवेल गाडिएको केही महिनाभित्रै सञ्चालनमा ल्याइसक्नुपर्छ, अन्यथा फिल्टर जाम भएर पानी नआउने अवस्था आउनसक्छ ।’ उनले भने, ’बालुवा थुप्रिएर बोर होल नै बन्द हुनसक्छ ।’ समयमै सञ्चालन नगरेपछि यी ट्युबवेलका बहुमूल्य पूर्वाधारहरू दुरुस्त रहन सकेका छैनन् ।

बटेश्वरका किसान राजकिशोर महतोले भने, ‘जमिन मुनिको पानी तानेर खेतबारीमा सिचाइ सुविधा पुर्याउने उद्देश्यले गाडिएको ट्युबवेल अझै प्रयोगमा आउन सकेको छैन ।’ महतोका अनुसार, ‘यति बेला यदि ट्युबवेल सञ्चालनमा आएका भए हामीलाई आकाशे पानीको कुरेर बस्नु पर्दैनथ्यो । अहिले धान रोपाइँमा गाह्रो भइरहेको छ ।’

उनले सिँचाइको अभावले गर्दा यो वर्ष धान रोप्न नपाएको बताएका छन् । बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले भने, ‘प्रदेश सरकारको सहयोगमा १७ वटा ट्युबवेलमध्ये सात वटामा ट्रान्सफमर जडान गरिएको छ ।’ उनले थपे, ‘विद्युत लाइन जडानको काम अगाडि बढाइएको भए पनि चालु आर्थिक वर्षमा ट्युबवेल सञ्चालनमा ल्याउन सकिने अवस्था छैन ।’

अध्यक्ष महतोले सिँचाइ प्रणाली सञ्चालन गर्न समरसिवल मोटर, प्यानल, पाइप लगायत थुप्रै उपकरण खरिद गर्नुपर्ने कुरा उल्लेख गरे । उनले भने, ‘यसका लागि पालिकामा बजेट छैन । हामी चालु आर्थिक वर्षमा विद्युत विस्तारको काम सम्पन्न गरेर आउँदो आर्थिक वर्षमा ट्युबवेल सञ्चालनको प्रक्रिया अगाडि बढाउनेछौं ।’