मिथिलाले बजेट नल्याएकोमा रास्वपाको आपत्ति

जनकपुरधाम, १२ साउन । धनुषाको मिथिला नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट अझैसम्म प्रस्तुत नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ ।
सोमबार रास्वपाको नगर समिति अध्यक्ष विजयकुमार साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नगर प्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकीलाई ज्ञापनपत्र बुझाउँदै बजेट प्रक्रियामा तत्काल प्रवेश गर्न माग गरेको हो ।
नगर कार्यपालिकाको ढल्केवरस्थित कार्यालयमा बुझाइएको ज्ञापनपत्र कार्यक्रममा रास्वपाका धनुषा जिल्ला सचिव रमेश पहाडी लगायत नेताकार्यकर्ता सहभागी थिए । पार्टीले संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० भित्र बजेट प्रस्तुत भइसकेको हुनुपर्ने उल्लेख गर्दै साउनको दोस्रो साता भइसक्दा पनि नगरपालिकाले कानुनी प्रक्रिया लत्याएको आरोप लगाएको छ ।
रास्वपाले बजेटको ढिलाइले स्थानीय स्तरमा विकास निर्माण, स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘विधिको शासनको उपहास गर्ने, जनताको अधिकार कुण्ठित गर्ने र असारे विकासमै रमाउने प्रवृत्तिको प्रतिरोध गरिनेछ ।’
पार्टीले नगरपालिका नेतृत्वलाई चेतावनी दिँदै भनेको छ, ‘यदि चाँडै नगरसभा आह्वान गरी बजेट प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलन सुरु गरिनेछ र त्यसको सम्पूर्ण जिम्मेवारी नगर कार्यपालिकाको हुनेछ ।’
सुशासन, पारदर्शिता र जवाफदेही शासन प्रणालीप्रति प्रतिबद्ध रहेको दाबी गर्दै रास्वपाले मिथिला नगरपालिकाको सकारात्मक कामको साथ दिने तर खराब नियतबाट गरिने कामको भण्डाफोर गरिने समेत जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


