मधेशमा ५९ अर्बको बीमा योजना सुरु

जनकपुरधाम, १२ साउन । मधेश प्रदेश सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ऐतिहासिक कदम चालेको छ ।
साउन १ गतेदेखि लागू गरिएको घरधुरी तथा नागरिक बीमा कार्यक्रममार्फत एक लाख घरधुरी र ६ हजार ६ सय नागरिकलाई बीमाको सुरक्षा कवचमा ल्याइएको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अगाडि सारेको यो योजना मधेशमा दिगो सामाजिक सुरक्षाको जग बसाल्ने उद्देश्यले लागू गरिएको हो । कार्यक्रम अन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा सुनिश्चित गरिएको छ ।
बीमाको व्यवस्था घरधुरी बीमा र नागरिक बीमासहित दुई तहमा गरिएको छ ।
घरधुरी बीमाअन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, हावाहुरी लगायत प्राकृतिक विपद्बाट हुने क्षतिको लागि ५ लाख रुपैयाँसम्मको बीमा गरिनेछ ।
त्यस्तै, नागरिक बीमाअन्तर्गत आकस्मिक मृत्यु, शारीरिक अपाङ्गता वा गम्भीर दुर्घटनाका घटनामा १० लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सकिने व्यवस्था गरिएको छ ।
बीमा दाबी प्रक्रिया सहज र पारदर्शी हुने प्रदेश सरकारको दाबी छ । यसका लागि साक्षीसहितको निवेदन, प्रहरी वा अस्पतालको प्रतिवेदन, स्थानीय पालिकाको सिफारिस र नागरिकता प्रमाण आवश्यक पर्नेछ ।
प्रदेश सरकारले पहिलोपटक यस्तो व्यापक बीमा योजना कार्यान्वयनमा ल्याएसँगै आम नागरिक विशेषगरी विपन्न र सीमान्तकृत वर्गको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरिएको छ । मुख्यमन्त्री सिंहले कार्यक्रमलाई सामाजिक सुरक्षाको नयाँ युगको शुरुवातका रूपमा लिएका छन् ।
‘सामाजिक न्याय सुनिश्चित गर्न बीमा अब एक अविभाज्य आधार हुनेछ,’ सिंहले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


