जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु, दाइजोका लागि हत्या गरिएको माइती पक्षको आरोप

जनकपुरधाम, १२ साउन । जनकपुरधाम उपमहानगरपालिका–४ राराब कलेज नजिकै एक महिला घरमै मृत फेला परेकी छन् ।
रातिको समयमा रहस्यमय तरिकाले भएको घटनाले स्थानीयबासी र प्रहरी दुवैलाई चकित बनाएको छ । २३ वर्षीया शोभा मण्डल आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
शोभाको विवाह पाँच वर्षअघि चन्दन मण्डलसँग भएको थियो । उनीहरूको एक छोरी पनि छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले राति साढे १२ बजेतिर शोभाले झुण्डिएर आत्महत्या गरेको जानकारी प्रहरीलाई प्राप्त भएको बताए । तर, प्रहरी टोली घटनास्थलमा पुग्दा मृतकको शव ओछ्यानमा फेला परेको थियो ।
‘घरपरिवारको भनाइ अनुसार उनीहरू झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर ओछ्यानमा राखिएको हो,’ निरीक्षक बैठाले भने, ‘तर, घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्नेछ ।’
यता, मृतक शोभाको माइती पक्षले भने यो घटना आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका छन् । शोभाका बुबा रामकिसुन मण्डलले छोरीमाथि विवाहपछिदेखि नै दाइजोको विषयमा झै–झगडा, कुटपिट र मानसिक यातना दिइँदै आएको आरोप लगाएका छन् ।
‘दाइजोको लागि बारम्बार विवाद हुन्थ्यो, छोरीले हामीलाई केही पटक फोनमा बताएकी थिइन् । अन्ततः उनले ज्यान गुमाउनुपर्याे,’ रामकिसुन मण्डलले भने । उनका अनुसार शोभाको श्रीमान चन्दन मण्डलसहित ससुरा पक्षका सदस्यहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीसमक्ष उजुरी दिइएको छ ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको र सोही अनुसार आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक बैठाले जनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


