पर्सा, १२ साउन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशमै सर्वोत्कृष्ट हुन सफल भएका छन् ।

कार्यालयले गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको हो । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले सो जानकारी गराएका हुन् ।

प्रहरी उपरीक्षक गौतम मिश्रको कमान्डमा पर्सा प्रहरीले ४० वटा बुँदामा केन्द्रित रहेर गरिएको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेको छ ।

यो अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी तस्करी र भन्सार छलीका सामान नियन्त्रण गरी कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ ।

विभिन्न अदालतबाट फैसला भई फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।