सुख्खाग्रस्त मधेशका किसानलाई विशेष राहत दिन मोर्चाको माग

काठमाडौं, १२ साउन । संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समितिको बैठकले तराई–मधेशका सुख्खाग्रस्त क्षेत्रका किसानलाई विशेष राहत र दीर्घकालीन समाधानका कार्यक्रम तत्काल ल्याउन सरकारसँग माग गरेको छ ।
सोमबार सिंहदरबारस्थित जनता समाजवादी पार्टी नेपालको संसदीय दलको कार्यालयमा जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा सहभागी नेताहरूले वर्षा अभावले धान खेती गर्न नसकेका किसानहरू संकटमा परेकाले कृषि ऋणमा छुट, तत्काल खानेपानीको व्यवस्था, सिँचाइका लागि डिपवेल बोरिङजस्ता उपाय आवश्यक भएको बताए ।
साथै, मलखाद, बीउबिजन, कीटनाशक औषधि लगायतका सामग्री सहुलियतमा उपलब्ध गराउनु पर्ने माग गरिएको छ । दीर्घकालीन समाधानका लागि चुरे संरक्षण, जलाशय निर्माण तथा पर्यावरणीय संकट न्यूनीकरण गर्न सरकार गम्भीर हुनुपर्ने बैठकको निष्कर्ष छ ।

बैठकले अधिकार र पहिचान पक्षधर दलहरूसँग सहकार्य गर्ने नीति अनुसार पहिलो चरणमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीसँग संवाद थाल्ने निर्णयसमेत गरेको छ ।
मोर्चाले साउन १८ गते काठमाडौंमा (संयुक्त कार्यक्रम), साउन २१ गते भैरहवामा (नाउपा), साउन २३ गते नेपालगञ्जमा, साउन २५ गते कैलालीमा (नाउपा), भदौ १६ गते विराटनगरमा (जसपा नेपाल), भदौ १८ गते राजविराजमा (राष्ट्रिय मुक्ति पार्टी नेपाल), भदौ २० गते जनकपुरधाममा (तमलोपा) र भदौ २२ गते वीरगञ्जमा (लोसपा नेपाल)ले समन्वय गर्ने निर्णय गरेको छ ।
मोर्चाले ती सबै कार्यक्रम सफल बनाउन स्थानीय तहमा सक्रिय कार्यकर्ता, सरोकारवाला र जनसमुदायसँग सहयोगको अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


