मधेशमा शेखर कोइराला समूहको रणनीतिक भेला

जनकपुरधाम, ११ साउन । नेपाली कांग्रेसभित्रको शेखर कोइराला नेतृत्वको समूहले पार्टी संगठन सुदृढीकरण र आगामी महाधिवेशन केन्द्रित रणनीति निर्माणका लागि मधेशमा महत्वपूर्ण छलफल सम्पन्न गरेको छ । महोत्तरीको बर्दिबासमा सम्पन्न भेलामा सप्तरीदेखि पर्सासम्मका कोइराला समर्थक नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
भेलामा पार्टीभित्र देखिएको गुटबन्दी, अनुशासनहीनता र निर्णय प्रक्रियामा व्यापक कमजोरीबारे गहिरो बहस गरिएको सहभागी नेताहरूले बताएका छन् । धनुषाका युवा नेता सुरेश कोइरालाका अनुसार शेखर समूह अब आसन्न महाधिवेशनलाई मुख्य एजेन्डा बनाएर संगठित रूपमा अघि बढ्ने तयारीमा छ ।
उनका अनुसार महाधिवेशन तोकिएको समयमा गराउने विषयमा दबाब सिर्जना गर्न र त्यसका लागि आवश्यक रणनीति तय गर्न बैठकमा व्यापक छलफल भएको हो । बैठकको अध्यक्षता देउवा समूह परित्याग गरी कोइराला समूहमा हालै प्रवेश गरेका नेता तथा मधेश प्रदेशका सांसद रामसरोज यादवले गरेका थिए ।
भेलामा कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, बजरंग नेपाली, अजय द्विवेदी, राजेन्द्र अमात्य, श्याम पटेललगायत नेताहरूको सहभागिता थियो ।
बैठकले पार्टी संगठनभित्र देखिएको शिथिलता र बेथिति विरुद्ध नेतृत्वलाई उत्तरदायी बनाउने किसिमका दबाबमूलक कार्यक्रमहरू तयार गर्ने संकेत दिएको सहभागीहरूको भनाइ छ । बैठकले वैचारिक स्पष्टता, सशक्त संगठन निर्माण र अनुशासन कायम गर्न कोइराला समूह थप सक्रिय हुँदै जाने सन्देश दिएको छ ।
भेला अब कोइराला समूह कुनै पनि राजनीतिक मुद्दामा मौन नबस्ने र पार्टीभित्र सशक्त हस्तक्षेपमार्फत आफ्ना एजेन्डा अघि बढाउने रणनीतिमा लागेको छ । आगामी महाधिवेशन त्यसको प्रमुख मोर्चा बन्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


