जनकपुरधाम, ११ साउन । जनकपुरधाम । लामो समयदेखि खडेरीको चपेटामा परेको मधेश प्रदेशका ६ जिल्लाका १० स्थानीय तहमा अब आपतकालीन राहत कार्यक्रम लागू हुने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाबाट पहिलो चरणमा यो राहत कार्यक्रम सञ्चालन गरिँदैछ ।

पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरी जिल्लाका प्रत्यक्ष खडेरी प्रभावित क्षेत्रमा लागू हुने यो कार्यक्रम दुई महिना सञ्चालन हुनेछ । जसबाट करिब ८ हजार ३५५ घरधुरीका ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने प्राधिकरणले जनाएको छ ।

यो कार्यक्रम तत्कालीन राहत, पूर्वाधार सुधार र दीर्घकालीन पुनःस्थापनासहित तीन चरणमा कार्यान्वयन हुनेछ । पहिलो चरणमा पानीको चरम अभाव झेलिरहेका बस्तीमा ट्यांकर, प्लास्टिक ट्यांकी, पाइपलाइन र वितरण संयन्त्रमार्फत आपतकालीन रूपमा खानेपानी आपूर्ति गरिनेछ ।

दोस्रो चरणमा दीर्घकालीन सिँचाइ समाधानका लागि गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन गरिनेछ । साथै, बिग्रिएको अवस्थित सिँचाइ प्रणालीको मर्मत, पुनःसंरचना र दीगो पानी आपूर्ति प्रणाली निर्माणमा सरकारी संयन्त्रसँग सहकार्य गरिनेछ ।

तेस्रो चरणमा भने खडेरीपीडित कृषक र श्रमिक लक्षित जीविकोपार्जनका कार्यक्रम सञ्चालन हुनेछन् । ’क्यास फर वर्क’ अवधारणाअन्तर्गत समुदायमै काम दिएर नगद आम्दानीको अवसर सिर्जना गरिनेछ । साथै, सिँचाइ सुधार, वैकल्पिक बाली प्रवद्र्धन र कृषि प्राविधिक सहायता प्रवाह गरिने योजना छ ।

संघीय मन्त्रिपरिषद्ले मधेशलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा र प्रदेश सरकारले ‘सुक्खाग्रस्त’ मानेपछि स्थलगत अध्ययनका आधारमा यो राहत कार्यक्रम अघि सारिएको हो । कार्यक्रमलाई स्थानीय तह, प्रदेश सरकार, स्टार्ट फन्ड नेपाल र विभिन्न साझेदार संस्थाहरूको समन्वयमा कार्यान्वयन गरिनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीका अनुसार, ‘अब जनताले कागजी घोषणामात्र नभई वास्तविक राहतको अनुभूति गर्नुपर्ने आवश्यकता छ । यही सोचका साथ यो कार्यक्रम अगाडि बढाइएको हो ।’

मधेशका अधिकांश खडेरी प्रभावित क्षेत्र हाल पानीको हाहाकार, बिउ नरोपिएको खेत र बालुवामै सुकिरहेका बस्तीको दृश्यले मानव संकटको झल्को दिइरहेका छन् । यस्तो अवस्थामा अघि सारिएको यो कार्यक्रम तत्कालीन राहतसँगै दीर्घकालीन समाधानतर्फको महत्वपूर्ण पाइलाका रूपमा हेरिएको छ ।