जनकपुरधाम, ११ साउन । लामो समयदेखि खडेरीको चपेटामा परेको मधेश प्रदेशमा राहत र वैकल्पिक व्यवस्थाको अभावमा जनजीवन थप कष्टकर बनेका बेला जनकपुरधाममा आइतबार प्रतीकात्मक विरोध प्रदर्शन गरिएको छ ।

समाजवादी युवा संघ नेपाल, धनुषाको अगुवाइमा भएको प्रदर्शनमा सहभागी युवाहरूले माटोको घैँटो बोकेर सडकमा उत्रिएर सरकारको उदासीनता विरुद्ध आवाज उठाएका हुन् ।

जनकपुरधामको मुख्य सडक खण्डमा प्रदर्शनकारीहरूले ‘किसानलाई पानी दे’, ‘सरकार होस गर’, ‘घोषणामै सीमित राहत चाहिंदैन’ जस्ता नारासहित प्लेकार्ड र ब्यानर प्रदर्शन गर्दै सरकारलाई सचेत गराए ।

प्रदर्शनमा सहभागी युवा नेताहरूले सुक्खा समस्यालाई लिएर प्रदेश र संघीय सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाए । उनीहरूका अनुसार सरकारको सुक्खाग्रस्त क्षेत्र घोषणा केवल ‘कागजी निर्णय’मा सीमित छ । जबकि वास्तविक राहतको कुनै आभास नागरिकले पाएका छैनन् ।

‘खडेरी यति गम्भीर छ कि किसानले अझै खेतमा बीउ हाल्न सकेका छैनन्, गाउँका धाराहरू सुकेका छन्,’ एक प्रदर्शनकारी युवा नेताले भने, ‘सरकार भने राहतको नाममा केवल घोषणा गरेर बसिरहेको छ । अब घोषणामै सीमित सरकार चाहिंदैन ।’

प्रदर्शनकारीहरूले सुक्खाग्रस्त मधेश प्रदेशलाई आपतकालीन राहत तुरुन्त उपलब्ध गराउनु पर्ने, खानेपानी संकटग्रस्त क्षेत्रमा वैकल्पिक आपूर्तिको तत्काल व्यवस्था गर्नुपर्ने र नदीजन्य पदार्थको अवैध उत्खनन तत्काल रोक्न कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।

उनीहरूले चेतावनी दिँदै भनेका छन्, ‘यदि जनताको आवाज अझै नसुनेर उपेक्षा गरियो भने आन्दोलनको स्वर अझ चर्किनेछ ।’

यसैबीच, मधेशका अधिकांश जिल्लामा लामो खडेरीका कारण धान रोपाइँ प्रभावित भएको छ भने हजारौँ घरपरिवार खानेपानीको चरम अभावमा जीवन यापन गरिरहेका छन् । नागरिक तहबाट उठेको यो चेतावनीलाई सम्बोधन नगरे संकट झन् गहिरिँदै जाने देखिन्छ ।