मिथिलाञ्चलमा झुलनोत्सव सुरु, जानकी मन्दिरमा भक्तजनको घुइँचो

जनकपुरधाम, ११ साउन । साउन शुक्ल तृतीयादेखि सुरु हुने मिथिलाञ्चलको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको झुलनोत्सव पर्व आइतबारदेखि भक्तिभावका साथ सुरु भएको छ । जनकपुरधामको बाह्र विघा मैदानमा सम्पन्न ‘मणिपर्व’पछि जानकी मन्दिरमा औपचारिक रूपमा झुलनोत्सवको उद्घाटन गरिएको हो ।
पन्ध्र दिनसम्म निरन्तर मनाइने यो पर्वको विशेष रौनक जनकपुरधामका मठमन्दिरहरूमा देखिएको छ । प्रत्येक साँझ भगवान राम–सीताको मूर्तिलाई परम्परागत शैलीमा सिंगारिएको झुलामा राखेर झुलाउने परम्परा अनुसार धार्मिक कार्यक्रम सञ्चालन भइरहेको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार झुलनोत्सव त्रेतायुगदेखि चलिआएको पर्व हो । ‘भगवान राम र जानकी झुलामा झुलेको जनविश्वासका आधारमा यो पर्व मनाउने गरिन्छ,’ उनले भने, ‘झुला परम्परा जानकी मन्दिरका प्रथम महन्थ सुर किशोर दास वैष्णवबाट संस्थागत भएको मानिन्छ ।’

साँझपख झुलाको झन्कारसँगै मन्दिर परिसर मिथिलाको झुला गीत र कजरीको धुनमा गुञ्जिने गर्छ । महिलाहरूको समूह झुला गीत गाउँदै भक्तिभाव प्रकट गर्छन् भने श्रद्धालुहरू फूलपाती, पञ्चामृत र नैवेद्य अर्पण गरी पूजाअर्चनामा सहभागी हुन्छन् ।
रत्नसागर मन्दिर, राम मन्दिर, अग्निकुण्ड, बिहारकुण्डलगायतका अन्य धार्मिक स्थलहरूमा पनि झुला पर्वमा भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ ।
सिरहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरू तथा भारतको बिहार राज्यसम्म झुलनोत्सवको व्यापक प्रभाव देखिन्छ । यस अवसरमा आन्तरिक तथा भारतीय पर्यटकहरूको समेत उल्लेख्य सहभागिता जनकपुरधाममा देखिएको छ ।

झुलनोत्सव साउन शुक्ल पूर्णिमाका राति १२ बजे झुलाको डोरी विधिपूर्वक काटेर समापन गरिन्छ । हरेक दिन झुला कार्यक्रम झिलिमिली प्रकाश, पूजा, गीत र नाचको संगमका रूपमा सञ्चालन हुँदै जान्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


