वर्षाको कामनामा किसानको दुग्ध अर्पण

जनकपुरधाम, ११ साउन । मधेशमा लामो समयदेखि नपरेको वर्षाले चिन्तित बनेका किसानहरूले परम्परागत आस्थामा आश्रित हुँदै धनुषाको ऐतिहासिक धनुष मन्दिरमा दुध चढाएर वर्षा होस् भन्ने कामना गरेका छन् ।
आइतबार बिहान धनुषाधाम नगरपालिका–१ स्थित प्राचीन धनुष मन्दिरमा आयोजित विशेष पूजामा नगर प्रमुख बालेश्वर मण्डलसहित चार सयभन्दा बढी स्थानीय किसान सहभागी भए । भगवान रामको धनुषको टुक्रा रहेको पवित्र थलोमा श्रद्धापूर्वक दुध अर्पण गर्दै उनीहरूले वर्षाका लागि प्रार्थना गरेका हुन् ।
मन्दिरका पुजारी भरतदास वैष्णवका अनुसार यो परम्परा निकै पुरानो हो । ‘तीन वर्षअघि पनि यस्तै खडेरी परेको बेला दुध चढाएपछि तुरुन्तै पानी परेको थियो,’ उनले सम्झिए, ‘त्यही विश्वासमा यस वर्ष पनि किसानहरू यहाँ आएका हुन् ।’
साउनको दोस्रो साता सकिँदासमेत वर्षा नहुँदा मधेश प्रदेशका आठवटै जिल्लामा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । कृषि विकास निर्देशनालयका अनुसार हालसम्म जम्मा ३४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपिएको छ । यो विगतको तुलनामा अत्यन्तै कम हो ।
कतिपय किसानले पम्पिङ सेटमार्फत खेत सिँचाइ गरी रोपाइँ थालेका छन् । तर, पानीको निरन्तर अभाव र चर्को घामका कारण रोपिएका बालीहरू जुर्रिन नपाउँदै सुक्न थालेको स्थानीय युवा नागेन्द्र महराले बताए ।
मौसम विज्ञान विभागले साउनको अन्त्यतिर वर्षा हुने सम्भावना व्यक्त गरे पनि तत्कालका लागि पर्याप्त वर्षाको सम्भावना न्यून रहेको जनाएको छ ।
कृषि विज्ञहरू दीर्घकालीन जलवायु परिवर्तनको असरले यस्तो असामान्य खडेरी आएको बताउँछन् । तर, खेतीमै आश्रित किसान भने आधुनिकीकरणभन्दा पनि धर्म र परम्पराको शरणमा पुगेका छन् ।
‘हामी त भगवानकै आस लागेका छौं,’ सहभागी एक किसानले भने, ‘अब पनि पानी परेन भने यो वर्ष परिवार पाल्न नै गाह्रो पर्छ ।’
परम्परागत विश्वासका बलमा वर्षाको पर्खाइ गरिरहेका किसानहरूको आशा अब प्रकृतिप्रतिको भरोसामा टेको लागेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


