जनकपुरधाम, ११ साउन । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले वातावरणीय सन्तुलन कायम राख्न प्राकृतिक स्रोतको अत्यधिक दोहन रोक्दै पर्यावरणमैत्री संरचना निर्माणमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित सन्तपुरमा निर्माणाधीन बाँसका सुरक्षित आवासहरूको अवलोकनका क्रममा सभामुख मण्डलले बाँसजस्ता स्थानीय स्रोतको प्रयोगले दीगो, सुरक्षित र वातावरणमैत्री संरचना निर्माण सम्भव हुने धारणा व्यक्त गरे ।

‘कङ्क्रिटको अत्यधिक प्रयोगले वातावरणमा गम्भीर असर परेको छ,’ सभामुख मण्डलले भने, ‘बाँसबाट बनेका संरचना भूकम्प प्रतिरोधी मात्र नभई ४० वर्षभन्दा बढी टिकाउ पनि हुन्छन् ।’ यस्ता संरचनाले जलवायु सन्तुलनमा समेत योगदान पु¥याउने उनको भनाइ छ ।

सभामुख मण्डलले आफू परियोजनाबाट सकारात्मक रूपमा प्रभावित भएको भन्दै यस्ता प्रयासमा निरन्तर सहयोग र प्रोत्साहन गर्ने आश्वासन दिए । उनका अनुसार अब कङ्क्रिटप्रतिको भ्रम हटाउँदै वातावरणमैत्री प्रविधिलाई बढावा दिनुपर्ने समय आएको छ ।

प्रदेश सभा सदस्य रामअशिष यादवले पनि पर्यावरणीय सन्तुलन कायम राख्न वैकल्पिक स्रोतको प्रयोग र स्थानीय प्रविधिमा लगानी अपरिहार्य भएको बताए । ‘कङ्क्रिट संरचनाले भूमिगत पानीको सतह घटाएको, तापक्रम बढाएको र जलसंकट निम्त्याएको छ,’ उनले भने, ‘अब हामीले समाधान खोज्नु छ, त्यो वातावरणमैत्री प्रविधिबाट सम्भव छ ।’

सन्तपुरमा हाल २२ अव्यवस्थित घरपरिवारका लागि बाँसबाट आवास निर्माण भइरहेको छ । सामुदायिक सुधार केन्द्र धनुषाले ‘ह्याबिट्याट फर नेपाल’ र गणेशमान चारनाथ नगरपालिकाको सहयोगमा परियोजना अघि बढाएको हो ।

सुधार केन्द्रका अध्यक्ष सञ्जयकुमार साहका अनुसार संरचनाको धुरी, खम्बा, बेरा, छाना लगायतका सबै भागमा प्रशोधित बाँसको प्रयोग गरिएको छ । ‘८० प्रतिशत सामग्री स्थानीयस्तरमै जुटाइएका छन्,’ उनले भने, ‘यी घरहरूले वातावरणमा दबाब नपारी सुरक्षित र दीगो बसोबासको नयाँ सम्भावना देखाएका छन् ।’

स्थानीय स्तरमा यस्ता प्रयासहरू व्यापक भएमा वातावरणीय सन्तुलनका लागि महत्वपूर्ण आधार तयार हुने सरोकारवालाहरूको धारणा छ ।