जनकपुरधाम, ११ साउन । नेपाल विद्युत् प्राधिकरणको ढल्केवर ग्रीड महाशाखाबाट सञ्चालित पश्चिमी फिडर अन्तर्गत चन्द्रनिगाहपुरतर्फको १३२ केभी प्रसारण लाइनमा मर्मत कार्य सुरु हुने भएपछि पाँच दिनसम्म दैनिक चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

प्राधिकरणले आइतबार एक सूचना प्रकाशित गर्दै साउन १२ गते सोमबारदेखि साउन १७ गते शनिबारसम्म हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म रौतहट जिल्लाका चन्द्रनिगाहपुर, मौलापुर र गौर वितरण केन्द्रहरूमा लोडसेडिङ हुने जानकारी दिएको हो ।

ढल्केवर ग्रीड महाशाखाका अनुसार सो अवधिमा प्रसारण लाइनमा आवश्यक मर्मतका साथै नयाँ आईसोलेटर जडान गरिने छ । उक्त कार्यका लागि ३३ केभी बस तथा फिडर सटडाउन गर्नुपर्ने भएकाले अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गरिन लागिएको बताइएको छ ।

मर्मतपश्चात विद्युत् सेवा अझ प्रभावकारी, सुरक्षित र स्थिर हुने प्राधिकरणको दाबी छ । उपभोक्ताहरूलाई तोकिएको समय अवधिमा वैकल्पिक उपाय अपनाउन र असुविधा प्रति धैर्य अपनाउन आग्रह समेत गरिएको छ ।

प्राधिकरणका अनुसार साउन १७ गतेपछि लाइन नियमित रूपमा सञ्चालनमा आउने छ । यस्तो समयमा अस्पताल, उद्योग र दैनिक क्रियाकलापमा निर्भर रहने उपभोक्ताहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

स्थानीय उपभोक्ताहरूले मर्मतलाई सकारात्मक रूपमा लिए पनि नियमित सूचना प्रवाह र लोडसेडिङ अवधिमा समयमै अपडेट पाउने विषयमा थप सजगता अपनाउन प्राधिकरणलाई सुझाव दिएका छन् ।