फरक–फरक घटनामा तीन जनाको मृत्यु

सप्तरी, १० साउन । सप्तरी जिल्लामा फरक–फरक घटनामा तीन जनाको मृत्यु भएको छ । खडक नगरपालिका–११ मा करेन्ट लागेर एक किसानको ज्यान गएको छ भने कञ्चनरुपमा एक किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । त्यस्तै, डाक्नेश्वरी नगरपालिका–६ का एक शिक्षक मृत अवस्थामा फेला परेका छन् ।
खडक नगरपालिका–११ का ५८ वर्षीय मोहम्मद युनुस मियाँको आफ्नै खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मियाँलाई गम्भीर घाइते अवस्थामा छिन्नमस्ता अस्पताल राजविराज पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसैगरी कञ्चनरुप नगरपालिका–१ बैरवाका अमोद पुर्वेकी १७ वर्षीया छोरी ज्योति कुमारी पुर्वे आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
यसैबीच, बिहीबार साँझदेखि हराइरहेका डाक्नेश्वरी नगरपालिका–६ का २७ वर्षीय शिक्षक रामकिसुन रायको शव कोशी नहरको छेउमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रायको शव घरदेखि करिब ५०० मिटर टाढा भेटिएको हो । मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


